श्रीमती हत्या आरोपी कारागारभित्रै ‘झुन्डिए’



दोलखा: प्रहरी हिरासदमा रहेका दोलखा, कालिञ्चोक ५, लापिलाङका २४ वर्षीय च्याङ्गा शेर्पाले आत्महत्या गरेको प्रहरीले जनाएको छ । श्रीमती हत्या आरोपमा पुर्पक्षका लागि थुनामा रहेका शेर्पाको मृत्यु भएपछि उनका आफन्त आन्दोलित छन् ।

उनीहरुले आज जिल्ला प्रहरी कार्यालय घेराउ गरेर प्रदर्शन गरेका थिए । प्रहरीले शेर्पाले कारागारभित्रै आत्महत्या गरेको दाबी गरेको छ । परिवारले भने आत्महत्या नभइ हत्या भएको आरोप लगाएको छ ।

अदालतको आदेशपछि शेर्पालाई मंगलबारमात्रै पुर्पक्षका लागि कारागार चलान गरिएको थियो । शेर्पाले कारागारभित्रै शौचालयको झ्यालमा जुत्ताको लेसमा झुन्डिएर आत्महत्या गरेको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वासुदेव पाठकले बताए ।

मृतक शेर्पाको शवलाई पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा राखिएको छ । शेर्पालाई दोलखा प्रहरीले गएको पुस २० गते श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्