निगमको वाइडबडी भोलि मलेसिया हुँदै ब्रिसबेन जाँदै



काठमाडौं : नेपाल वायुसेवा निगमको वाइडबडी विमान मलेसिया हुँदै अष्ट्रेलियाको ब्रिसबेन जाने भएको छ ।

लकडाउनका कारण नेपालमा अलपत्र परेका अष्ट्रेलियाली र न्यूजील्याण्डका पर्यटकलाई लिएर भोलि (बुधबार) दिउँसो विमान त्यसतर्फ जाने भएको हो ।

निगमको अपरेसन विभागका निर्देशक दिपुराज ज्वारचनका अनुसार यसअघि सिड्नी जाने भनिएको वाइडबडी अष्ट्रेलियन दूतावासको योजना अनुसार क्वीन्सल्याण्डको राजधानी ब्रिसबेन जान लागेको हो ।

दूतावासका अनुसार सिड्नी विमानस्थलको क्वारेन्टाइनमा थप यात्रु राख्ने स्थान अभाव भएको कारण देखाउँदै दूतावासले निगमको चार्टर विमानलाई क्वीन्सल्याण्डतर्फ मोड्ने निर्णय लिएको हो ।

नागरिक उड्डयन प्राधिकरणले काठमाडौंमा रहेको अष्ट्रेलियन दूतावासले आफ्ना नागरिकका लागि गर्न लागेको उद्धार उडानलाई सोमबार अनुमति दिएको निर्देशक ज्वारचनले बताएका छन् ।

काठमाडौंबाट १० घण्टाभन्दा लामो हवाई रुट भएकाले निगमले यो चार्टर विमान मलेसियाको राजधानी क्वालालमपुर टचडाउन गरेर उड्ने छ ।

बुधबार साँझ ५ः३० बजे निगमको चार्टर विमान काठमाडौंको अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेसियाको क्वालालम्पुर उड्ने छ ।

क्वालालम्पुर पुगेको विमानमा इन्धन भरेर राति १ः३० बजे अष्ट्रेलियाको ब्रिसबेनतर्फ उड्ने छ ।
ब्रिसबेनमा बिहीबार दिउँसो ११ बजे पुग्ने छ भने त्यहाँबाट १ बजे नेपालका लागि रित्तै फर्किने वाइडबडी मलेसियाको क्लालम्पुर हुँदै काठमाडौं बिहीबार राति ११ बजे आइपुग्ने छ ।

यसका लागि दूतावासले निगमलाई उडानको भाडा दिने छ । भाडा प्रति घण्टा १८ हजार १ सय अमेरिकी डलर दूतावारले निगमलाई लिने निगमले जनाएको छ ।

यो चार्टर उडानको नेतृत्व निगममा रहेका अष्ट्रेलियाली क्याप्टेन जेम्स किपले गर्दै छन् । उनीसहित ३ जना नेपाली गरेर ६ जना पाइलट यो उडानमा हुने छन् । निगमले यो उडानमा इन्जिनियर, डिस्प्याचर, टेक्निसीयन र क्याबिन क्रू सहित १४ जनाको टिम पठाउँदै छ । यो उडानमा अष्ट्रेलियाली नागरिक कति हुनेछन् भन्ने खुलाइएको छैन । यसमा ३५ हाराहारी न्यूजिल्याण्डका नागरिक पनि जाँदै छन् ।

त्यसोत नेपालले ५ महिनाअघि अष्ट्रेलियासँग हवाई सम्झौता गरेको थियो । तर, निगम एयरबसको वाइडबडीबाट अष्ट्रेलिया जान लागेको भने यो पहिलो पटक हो ।

प्रतिक्रिया दिनुहोस्