संगठित आर्थिक अपराधका घटनामा बृद्धि 



नेपालगञ्ज :  सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै पछिल्लो समय प्रदेश ५ मा संगठित आर्थिक अपराध तथा बैंकिङ कसुरका घटना बढ्दै गएका छन् । जुवाघरदेखि बैंकमा हुने ठगीका मुद्दा प्रहरीमा दर्ता हुने क्रम बढेकाले यस्तो स्थिति देखिएको हो । 

प्राप्त तथ्याङ्कमा चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म मात्र संगठित आर्थिक अपराध र बैंकिङ कसुरसम्बन्धी ५३१ उजुरी परेका छन् । तीमध्ये ४४८ संगठित आर्थिक अपराधसम्बन्धी र ८३ बैंकिङ कसुरका रहेको प्रदेश प्रहरी मुख्यालयले जनाएको छ । 

मुख्यालयका अनुसार प्रदेशमा साउनदेखि पुस मसान्तसम्म ५२५ आत्महत्यासम्बन्धी घटना दर्ता भएकामा झुण्डिएर ३४९, बिषसेवन गरेर १४१, पानीमा डुबेर चार र विविध आत्महत्या १३ का साथै आत्महत्या प्रयासका १८ उजुरी दर्ता भएका छन् ।

आत्महत्याजस्तो अपराध नियन्त्रणका लागि समाजमा मनोपरामर्श कार्यक्रम गर्नुपर्ने सुझाव विज्ञहरुले दिँदै आएका छन् । हतियारधारी अपराधीविरुद्ध प्रदेश प्रहरी कडा रूपमा प्रस्तुत हुने प्रदेश ५ का प्रहरी नायव महानिरीक्षक (डिआइजी) पिताम्बर अधिकारीले बताए । 

अपराधिक क्रियाकलापमा लागेका विरुद्ध ‘इन्काउन्टर’ भइरहेका बेला डिआइजी अधिकारीले त्यस्ता अपराधीविरुद्ध आगामी दिनमा प्रहरी झन् सशक्त भएर अघि बढ्ने बताए । 

हतियारसहितको संगठित अपराध, चन्दा आतंक, महिला हिंसा, हत्याजस्ता गम्भीर प्रकृतिका घटना प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको उनको भनाइ थियो । सवारी साधन दुर्घटना नियन्त्रण प्रदेश ५ का लागि चुनौतीपूर्ण बनेकाले महेन्द्र राजमार्गमा रात्रिकालीन सवारी दुर्घटना नियन्त्रण गर्न विशेष अभियान चलाउन लागेको डिआइजी अधिकारीले जानकारी दिए । 

प्रदेश सरकारसँगको समन्वयमा प्रहरीले बर्दघाटदेखि चिसापानीसम्म सिसीटिभी क्यामरा जडान गर्ने योजना बनाएर प्रक्रिया अघि बढाएको, मातहतका प्रहरी कर्मचारीलाई प्रचारमुखीभन्दा परिणामुखी बन्न निर्देशन दिइएको, पहुँच नभएकालाई सहजै सेवा उपलब्ध हुने वातावारण सिर्जना गर्न पहल गरिएको उनको भनाइ थियो । 

लागूऔषधको घटना बढ्दो 

लागूऔषध ओसारपसारको दृष्टिले जिल्लाको अवस्था नाजुक  छ । जिल्ला प्रहरी कर्यालयले चालू आवको पुस मसन्तसम्ममा लागूऔषधको ओसारपसारमा संलग्न रहेको अभियोगमा ११९ मुद्दामा १८२ लाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । 

प्रहरी नियन्त्रणमा रहेकामध्ये १६७ नेपाली पुरुष, पाँच महिला, नौ भारतीय र एक बंगलादेशी नागरिक छन् । अघिल्लो आर्थिक वर्ष परेका ८४ उजुरीमा संलग्न १२९ जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको व्यूरोका इन्चार्ज तथा प्रहरी निरीक्षक वीरबहादुर थापाले जानकारी द्रिए । 

प्रहरीले उनीहरुको साथबाट २६९ ग्राम आठसय मिलीग्राम ब्राउनसुगर, ३९ किलो ३५६ ग्राम चरेश, दुई किलो ७२० ग्राम गाँजा, पाँच लिटर आठसय मिलीलिटर कोरेक्स, पाँच हजार २७६ ट्याब्लेट नाइट्रोजोपाम र २४ ट्याब्लेट स्पामो बरामद गरेको थियो । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार लागूऔषध ओसारपसारमा आव २०७२÷७३ मा ९७ मुद्दामा १०८ जना पक्राउ परेका थिए । 

आव २०७४÷७५ मा लागूऔषध ओसारपसारमा संलग्न भएको आरोपमा १४५ मुद्दा दर्ता गरी ३१० लाई नियन्त्रणमा लिएर मुद्दा चलाइएको छ । प्रहरीका अनुसार नेपालबाट गाँजा, अफिम र चरेश भारततर्फ लैजाने र भारतबाट ब्राउनसुगर, नाइट्रोजोपाम ट्याब्लेट, स्पामो ट्याब्लेट र कोरेक्सजस्ता लागूऔषध नेपाल भित्रिने गरेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्