हेटौँडा उपमहानगरपालिका सार्वजनिक जग्गाको खोजीमा



हेटौँडा : हेटौंडा उपमहानगरपालिकाले नगरभित्र रहेका सार्वजनिक जग्गाको तथ्यांक संकलन गर्ने भएको छ। उपमहानगरसँग सार्वजनिक जग्गाको तथ्यांक नहुँदा विकासे कार्यक्रम गर्न अप्ठ्यारो भएकाले उपमहानगरको कार्यपालिका बैठकले तथ्यांक संकलन गर्ने निर्णय गरेको हो।  

 

उपमहानगरपालिकाको नाममा भएका जग्गाको संरक्षण नभएको र भएका केही जग्गा पनि अतिक्रमणमा परेकाले संरक्षणको प्रयास थालिएको हेटौँडा–१ का वडाअध्यक्ष सविन न्यौपानेले बताए। सार्वजनिक जग्गाको पहिचान भएपछि अतिक्रमण गरिएको जग्गा फिर्ता लिएर संरक्षण गरिने उनले बताए ।

 

उनका अनुसार साविकको हेटौँडा–११ तथा उपमहानगरमा स्तरोन्नति भइसकेपछि गाभिएको तत्कालीन हटिया, हर्नामाडी, चुरियामाई र पदमपोखरीमा सार्वजनिक जग्गा धेरै रहेका छन्। 

 

कार्यपालिकाको बैठकले उपमहनागरपालिकाले सडक र भवन निर्माणको नयाँ मापदण्ड बनाउने निर्णय समेत गरेको छ। उपमहानगरपालिकाको मंगलबार बसेको कार्यपालिका बैठकले सडक र भवन निर्माणको मापदण्ड परिमार्जन गर्ने निर्णय गरेको हो।

 

प्रतिक्रिया दिनुहोस्