मुद्रा तस्करीको आरोपमा फसे गायक खान



दिल्ली :  पाकिस्तानी गायक राहत फतेह अली खानमाथि विदेशी मुद्रा तस्करीको आरोप लागेको छ ।

मामलाको अनुसन्धान गरिरहेको इन्फोर्समेन्ट डिरेक्टोरेट (इडी्र)ले उनलाई यसबारे जवाफ दिन आदेश दिएको छ । मामिला तीन लाख ४० हजार डलरको अवैध विदेशी मुद्रासँग जोडिएको छ ।

इडी अधिकारीका अनुसार यो नोटिस सन् २०११ मा दिल्लीको इन्दिरा गान्धी इन्टरनेसनल एयरपोर्टमा राहतबाट बरामद गरिएको अमेरिकी डलरको मामलामा पठाइएको छ । स्मरण रहोस्, राहतसँग विदेशी मुद्रासँग जोडिएका कुनै पनि दस्तावेज भेटिएको थिएन ।

जारी हुनसक्छ लुक आउट नोटिस

न्यूज वेबसाइट फर्स्ट पोस्टको खबरअनुसार राहतले तीन लाख ४० हजार डलर (तीन करोड ८५ लाख रुपैयाँ) अवैध तरिकाले कमाएका थिए । यसमा उनले दुई लाख २५ हजार डलरको तस्करी  गरे ।

राहतको जवाफबाट अनुसन्धान एजेन्सी सन्तुष्ट नभए उनलाई दुई लाख २५ हजार डलरको तीन सय प्रतिशतको हिसाबले जरिवाना तिर्नुपर्नेछ । र, यदि उनी जरिवाना दिन सक्दैनन् भने उनीविरुद्ध लुकआउट नोटिस जारी हुनेछ ।

प्रतिक्रिया दिनुहोस्