उपचार नगर्ने निजी अस्पताल तथा निर्सिङ्ग होमको लाइसेन्स खारेज गर्ने चेतावनी



जनकपुरधाम : विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका शंकास्पद बिरामीलाई उपचार गर्न नमान्ने निजी अस्पताल तथा निर्सिङ्ग होमको लाइसेन्स खारेज गर्ने प्रदेश सरकारले चेतावनी दिएको छ ।

निजी अस्पताल तथा नर्सिङ्गहोमले यस्तो गम्भीर संकटको बेलामा बिरामीको स्वास्थ्यसँग खेलवाड गर्न थालेपछि प्रदेश २ सरकारले यस्तो निर्णय गरेको हो । कोरोना शंकास्पद बिरामीको उपचार नगर्ने तथा बिरामीलाई फर्काउने अस्पताल तथा नर्सिङ्ग होमको लाइसेन्स खारेजीसम्मको कारवाही गर्न प्रदेश २ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ८ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाउँदै यस्तो निर्देशन दिएको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश २ ले बुधबार आठै जिल्लाका प्रशासन कार्यालयलाई पत्राचार गरी कोरोना महामारी र लकडाउनको अवधिभर अर्को व्यवस्था नहुन्जेल उपचार गर्न नमान्ने निजी अस्पताल तथा नर्सिङ्ग होमलाई नियन्त्रणमा लिई स्वास्थ्य सेवा नियमित सञ्चालन गराउन निर्देशन दिएको हो ।

लकडाउनको अवधिमा कतिपय अस्पतालले शंकास्पद बिरामीको उपचार नगर्दा काठमाडौं लैजाने क्रममा बाटोमै ज्यान जाने गरेको घटनाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको भन्दै मन्त्रालयले यस्तो निर्णय लिएको हो । मन्त्रालयले प्रदेश २ का ८ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पठाएको पत्रमा भनिएको छ ‘विद्यमान कोभिड-१९ को महामारीले अक्रान्त बनाइएको यस विषम परिस्थितीमा उपरोक्त किसिमका घटनाहरु भइरहँदा राज्य केबल मुकदर्शक बनेर बस्न सक्दैन् ।’

विरामीहरुसँग समान्य मानवोचित व्यवहार नगरी न्युनतम व्यवसायिक धर्मसमेत निर्वाह नगरेको देखिएको हुनाले त्यस्ता अस्पताल तथा नर्सिङ होमहरुलाई तत्काल अनुसन्धानको दायरामा ल्याई कार्वाही प्रक्रिया अगाडी बढाउन प्रदेश २ सरकारले निर्देशन जारी गरेको आन्तरिक मामिला मन्त्रालयका सचिव कृष्णहरी पुस्करले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्