पुरिएका दुईजना गोठाला मृत भेटिए, ४ भेडा जीवितै



धादिङ : उत्तरी धादिङको रुवीभ्याली गाउँपालिका ४ हिन्दुङको ओढारमा बेपत्ता भएका दुई गोठाला मृत भेटिएका छन्। 

 

आइतबार हिमपात भइरहेको बेला दुई सय ६० भन्दा बढी भेडाबाख्रासहित दुई गोठाला बेपत्ता भएका थिए। बेपत्ता भएका  १७ वर्षीय धनबहादुर तामाङ र ४२ वर्षीय नुर्बु तामाङ को शव भेटिएको हो। 

बेपत्ताहरुको खोजीमा २७ जना सशस्त्र प्रहरी र ५० भन्दा बढी स्थानीय गाउँले खटिएका थिए। बिहीबार साँझ ७ बजेतिर दुवैजनाको शव फेला परेको सशस्त्र प्रहरी धादिङका डिएसपी दर्शन गिरीले जानकारी दिए।

 

ढुंगाले थिचिएको अवस्थामा दुवैजनाको शव भेटिएको उनको भनाइ छ। ओढारभित्र पस्ने ठाउँ नै बन्द भएपछि प्रहरीले नयाँ ठाउँबाट खनेर उनीहरुको शव निकालेको हो। शव फेला परेपछि गाउँले र आफन्त शोकमा डुबेका छन्। ओढारको मुखमा ठूला चट्टान खसेर टालिएपछि उनीहरु पाँच दिनदेखि बेपत्ता थिए। 

 

सडक सञ्जालले नजोडिएको उक्त घटनास्थल सदरमुकाम धादिङवेशीबाट दुई दिनको पैदल दूरीमा पर्छ। घटनास्थल रुवीभ्याली गाउँपालिकाको केन्द्र सेर्तुङबाट ६ घण्टाको पैदल यात्रामा पुग्न सकिन्छ। 

 

 

उद्धार टोलीले ३१ घण्टापछि करिब २० मिटर पहिरो पन्छाई उनीहरुको शव निकालेको हो । सँगै सुतेका उनीहरुको ढुंगाले च्यापेको अवस्थामा शव भेटिएको सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक दर्शन गिरीले बताए ।

शवहरु स्थानीयको मुचुल्का बनाई सदगत गर्न आफन्तहरुलाई नै जिम्मा लगाइएको छ ।

 

ओढार भत्कँदा झन्डै एक सय ५० भेँडाबाख्रा पुरिएको आशंका छ । तर, अहिलेसम्म उद्धार टोलीले ४ भेंडा जीवितै निकालेको प्रहरी नायव उपरीक्षक गिरीले बताए । उनले पहिरो हटाउन कार्य चलिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्