तीन दिनको शिशु कोरोना संक्रमित



काठमाडौं : छिमेकी मुलुक भारतमा तीन दिनको शिशुमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण भएको पुष्टि भएको छ । उनीसँगै उनको आमालाई पनि कोरोना संक्रमण भएको छ भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ ।

मुम्बईको चैंबुर भन्ने ठाउँका विक्की सिंहकी श्रीमती र उनको तीन दिनको छोरामा कोरोना पुष्टि भएको हो ।

मुम्बईको साई अस्पतालको दुई बेडको एउटा सिङ्गै कोठा उनीहरुले बुक गरेका थिए । तर, जन्मिएको तीन दिनका छोरा र श्रीमतीलाई कोरोना लागेको विक्कीले सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।

विक्की सिंहले अस्पतालको लापरवाहीका कारण आफ्नो पत्नी र छोरो कोरोना भाइरसबाट संक्रमित भएको आरोप लगाउँदै आएका छन् । उनले अस्पतालले कोरोना संक्रमितलाई बेडमा राखेको र पछि त्यो कोठा राम्रोसँग सफा नगर्दा छोरा र श्रीमतीलाई कोरोनाभाइरस सरेको बताए ।

विक्कीले भने–‘अपरेसन गरेर बच्चा जन्मिएको दुई घण्टामै अस्पतालका कर्मचारीले अर्को कोठामा सर्न भने । मैले मानिन् । तर, कर्मचारीहरुले त्यो कोठाको चुकुल बिग्रिएको भन्दै एउटामात्रै बेड भएको अर्को कोठामा सारिदिए । र भोलिपल्ट त्यो कोठामा पहिलो कोरोना संक्रमित बिरामीलाई राखेको भनेर स्वीकार गर्यो ।’

अहिले विक्की, उनकी पत्नी र छोरो कस्तुरबा अस्पतालको क्वारेन्टाइनमा छन् । उनीहरुलाई डाक्टरहरुको निगरानीमा उपचार जारी छ ।

समाचार एजेन्सी एएनआईका अनुसार कोरोना भाइरस संक्रमण फैलिएको पाइएपछि साई अस्पताललाई सिल गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्