चोयाले धानेको जिन्दगी



धादिङ: बाँस वा निगालोबाट चोया बनाउनु अनि डोको–थुन्से बुन्नु र तिनलाई बजारमा बेच्नु रीकी संगीता तामाङको दिनचर्या हो। २०७२ सालको भूकम्पले गाउँमा बस्नै नसक्ने भएपछि सदरमुकाम धादिङबेसीनजिकैको दामगाडेमा अस्थायी टहरा बनाएर बसिरहेकी तामाङ दैनिक जीविकोपार्जनका लागि डोको, थुन्से बुन्ने गर्छिन्। बिहानको काम सकेर पारिलो घाममा उनी निगालोको चोयाबाट थुन्से बुन्ने गर्छिन्। उनको कोठा निगालो अनि थुन्सेले भरिएको छ।

गाउँको जायजेथा भूकम्पले विनाश गरिदिएपछि तामाङका सपरिवार सदरमुकाम आए। उनीहरु अहिलेसम्म पनि चारैतिर जस्ताले बारिएको टहरोमा बस्दै आएका छन्। बिहान बेलुकाको छाक टार्न र बालबच्चाको स्कुल खर्चका लागि दैनिक डोका–थुन्से बुन्ने गरेको तामाङले बताइन्। ‘गाउँमा हुँदा पनि निगालोको चोयाबाट थुन्से बुन्ने काम गथ्र्यौं’, तामाङले भनिन्, ‘भूकम्पपछि तल झर्‍यौं, अरु सीप छैन, अहिले बाँच्ने आधार नै यही निगालो भएको छ।’

तामाङले दिनमा तीनवटासम्म थुन्से बुन्ने गरेको बताइन्। ‘जाँगर भएको बेलामा एक दिनमा तीनवटासम्म थुन्से बुन्ने गरेकी छु’, तामाङले भनिन्, ‘श्रीमान्ले गाउँबाट निगालो ल्याउनुहुन्छ, म बुन्ने गर्छु।’ यसरी बुनेका थुन्से लिन व्यापारीहरु बस्तीमै आउने गरेका छन्। चोयाबाट बनेका सामान बिक्रीबाट सामान्य परिवारले पनि महिनामा २० देखि ५० हजार आम्दानी गर्छन्। यसबाट घरखर्च चलाउनेदेखि बालबच्चाको पढाइलाई पनि सहज भएको छ।

तामाङले मात्रै होइन, बस्तीका प्रायः सबैले डोको–थुन्से बुन्छन्। स्कुले विद्यार्थीदेखि वुद्धवृद्धाले पनि डोको बुन्छन्। निगालो लिन धादिङ र गोरखाको सिमानामा पर्ने मान्द्राङ, विन्द्राङलगायतका ठाउँमा जानुपर्छ। एउटा थुन्सेको आकार हेरेर एक सयदेखि तीन सय रुपैयाँसम्म पर्छ। चोयाको काम यहाँका स्थानीयको आयआर्जनको राम्रो स्रोत बनेको नागरिकमा खवर छ । 

प्रतिक्रिया दिनुहोस्