कैलालीका कोरोना संक्रमित २८ घण्टा ९ सय ९१ जनाको भीडमा



काठमाडौं : आज (शनिबार) कैलाली र कञ्चनपुरमा थप तीन जनामा कोरोनाभाइरसको पुष्टि भएपछि धनगढी बजारमा त्रास र सन्त्रास पैदा भएको छ ।

संक्रमित पाइएका तीन जनामध्ये २ जना भारतबाट आउने क्रममा धनगढी र गड्डाचौकीमा सयौंको भीडमा रहेको खुलेपछि स्थानीयवासी त्रसित भएका हुन् ।

मुम्बइबाट आएका एक जना कैलालीको लम्की चुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय युवक हुन् । उनी चैत १२ गते धनगढी हुँदै गाउँ पुगेका थिए । गौरीफन्टामामा २८ घण्टा रोकेका ९ सय ९१ जनाको भीडमा उनीसँगै रहेका थिए ।

उनी १२ गते राति १० बजे त्यहाँबाट बस चढेर प्रतापपुरस्थित घर पुगेका थिए । स्थानीय प्रहरीले लकडाउनका कारण त्यहाँ रोेकेका नेपालीहरुलाई २१ वटा बसको व्यवस्था गरी सम्बन्धित जिल्लामा पठाएको थियो । कैलालीका २ सय ९१ जनामध्ये लम्की र टीकापुर क्षेत्रका नेपालीहरुलाई ना ५ ख ६७३४, से १ ख २१५३, ना ७ ख ७२३१ र ना ४ ख ४८६९ नम्बरको बसमा त्यहाँ पठाइएको स्रोतले बतायो ।

उनी ती चारमध्ये कुन बसमा थिए भन्ने अझै खुल्न सकेको छैन । प्रहरीले सबै बसका बारेमा बुझिरहेको छ । कञ्चनपुरको बेदकोटमा फेला परेका संक्रमित भारतको उत्तराखण्डबाट चैत १३ गते गड्डाचौकी हुँदै घर पुगेका थिए ।

उनी पनि भारतबाट नेपाल भित्रिने सयौं नेपालीको भीडमा थिए । त्यसदिन बिहान झण्डै दुई हजार ५ सय नेपाल गड्डाचौकी नाका भएर नेपाल प्रवेश गरेका थिए । दुबै जना सयौंको संख्याको भीडमा रहेकोले भीडमा रहेका अरु पनि संक्रमित भएको हुन सक्ने आशंका गरिएको छ ।

भारतबाट आएका केही व्यक्तिहरु सम्बन्धित तहमा बनाईएका क्वारेन्टाईनमा रहेपनि अधिकांश भने घर घरमै छन् ।

पहिलो पटक विदेशबाट आएका नभइ नेपालभित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको यो पहिलो घटना हो । योसँगै कोरोना भाइरस संक्रमितको संख्या ९ पुगेको छ ।

जसमध्ये एकजना भने निको भएर घर फर्किसकेका छन् । संक्रमित भएकाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । साथै आज फेला परेको तीनजना संक्रमितकोे सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

हालसम्म ५ वटा जिल्लामा कोरोना संक्रमण देखिएको छ । काठमाडौं, बागलुङ, धादिङ र कैलाली र कञ्चनपुर गरी ५ जिल्लामा संक्रमण देखिएको हो ।

सरकारले टेकुमा मात्र भइरहेको नमुना परीक्षणको दायर बढाएर सातै प्रदेशमा पुर्‍याएको छ।

प्रतिक्रिया दिनुहोस्