महिला पत्रकारको सहभागिता सुनिश्चित गर्न माग



चितवन :  सञ्चारसम्बद्ध संस्थालाई महिलाको समुचित प्रतिनिधित्व हुने गरी समावेशी बनाउनुपर्ने मागसहित पत्रकार महिलाको राष्ट्रिय सम्मेलन १३ बुँदे पटिहानी घोषणापत्र जारी गर्दै शुक्रबार सम्पन्न भएको छ । चितवनको पटिहानीमा यही माघ १६ र १७ गते दुई दिन चलेको सम्मेलनमा दुईसय पत्रकार महिला सहभागी थिए । 

सम्मेलनले जारी गरेको घोषणापत्रमा सरकारी सञ्चारमाध्यम, आयोग, समिति, सल्लाहकार, बोर्ड र कर्मचारी नियुक्तिमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चितताको तत्काल कार्यान्वयनका लागि माग गरिएको छ । आधारभूत र बिषयगत तालीमको ब्यबस्था मिलाउन माग गर्दै सम्मेलनले भौतिक र पेशागत सुरक्षाको सुनिश्चितताका लागि पेशागत स्थायित्वको उचित वातावरण निर्माण गर्न सरकारसँग आग्रह गरेको छ ।

नीतिगत र नेतृत्व तहमा महिला सहभागिता सुनिश्चित भइनसकेको ठहर गर्दै सम्मेलनले महासंघको विधानमा प्रत्यक्ष निर्वाचन प्रणाली अंगिकार गरी अध्यक्ष वा महासचिवमध्ये एक महिला हुनुपर्ने अनिवार्य व्यवस्था गर्न नेतृत्वको ध्यानाकर्षण गराइएको छ । श्रम ऐनले व्यवस्था गरेका सुविधा उपलब्ध हुन नसककेको निष्कर्ष निकाल्दै सम्मेलनले हरेक सञ्चारमाध्यममा आन्तरिक लैंगिक नीति अनिवार्य रूपमा बनाई कार्यान्वयन गर्न सुझाएको छ । 

सम्मेलनले अधिकांश सञ्चारमाध्यममा पत्रकार नियुक्ति र पदोन्नति गर्दा समावेशी नीति नअपनाएको भन्दै त्यो अवस्था तत्काल सुधार्न सञ्चालकलाई आह्वान गरिएको छ । यस्तै हरेक सञ्चारमाध्यममा शिशु स्याहार केन्द्रको अनिवार्य व्यवस्था गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण पनि गराइएको छ । 

सरकारले व्यवस्था गरेको सुत्केरी बिदालाई पाँच महिना पुर्याउने गरी नीतिगत निर्णय गर्नुपर्ने माग गर्दै सम्मेलनले सो विषयमा ठोस निर्णय नहुँदासम्म हाल रहेको व्यवस्थालाई कार्यान्वयन गर्न पनि माग गरेको छ । 

सुत्केरी बिदा बसेकै कारण कतिपय पत्रकार महिलाको पदोन्नति रोकिएकोले अब उपरान्त पदोन्नतिमा बाधा अवरोध नपुर्याउन अनुरोध गरिएको छ । यस्तै नेपाल पत्रकार महासंघले घोषणा गरेको राष्ट्रियस्तरको आम सञ्चार प्रतिष्ठान चितवनमा निर्माणका लागि तुरुन्त पहल गर्न घोषणापत्रमार्फत आग्रह गरिएको छ । 

सम्मेलनको बिहीबार एक कार्यक्रमबीच पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभएको   थियो । नेपाल पत्रकार महासंघ महिला समितिको आयोजनामा पत्रकार महिला सम्मेलन भएको हो । 

प्रतिक्रिया दिनुहोस्