करिश्माको बायोपिकमा काम गर्ने विपनाको रहर



काठमाडौं : नेपाली फिल्ममा लामो समयसम्म काम गरेकी नायिका विपना थापा अहिले फिल्मी क्षेत्रबाट टाढा छिन् ।

विपनाले धेरै सफल फिल्महरुमा काम गरेकी छिन्, जसमा ‘तँ त साह्रै विग्रिस् नि बद्री’, ‘माइली’, ‘जन्मभूमि’, ‘अप्सरा’, ‘आगो’, ‘के भो लौन नि’, ‘मामा भान्जा’, ‘मितिनी’, ‘सहीद गेट’, ‘बक्सिस’,‘नगद नारायण’ लगायतका रहेका छन् । नायिका विपनाले १११ वटा फिल्ममा काम गरिसकेकी छिन् ।

विपनाले आफूलाई भर्सटायल नायिकाकोे रुपमा स्थापित गरिसकेकी छिन् । उनले भारतीय नागरिक डा. आशुतोष भारद्धाजसँग विवाह गरेपछि नेपाली फिल्मलाई छोडेकी थिइन् । उनी सात वर्षे एक छोराकी आमा समेत छिन् । उनी परिवारको असहयोगका कारण फिल्ममा फर्किन नसकेको बताउँछिन् ।

उनी श्रीमान र एक छोरासहित भारतको मथुरामा बस्दैआएकी छिन् । उनले अर्को वर्षबाट छोरालाई छात्रावासमा राख्ने र फिल्ममा फर्किने सोच बनाएकी छिन् । अब उनी अभिनयका साथै फिल्म निर्माण र निर्देशनमा सक्रिय हुने सोचमा पनि रहेकी छिन् ।

विपनाले यदि नायिका करिश्मा मानन्धरको जीवनीमा फिल्म बन्यो भने त्यसमा आफूले काम गर्ने इच्छा प्रकट गरेकी छिन् । उनले करिश्माको संघर्ष र सफलतामाथि फिल्म निर्माण गरे नयाँ पुस्ताका लागि उपयोगी हुने धारणा पनि राखेकी छिन् । करिश्माले यस उमेरमा आएर पनि बिद्यालय गएर पढ्नका लागि कुनै उमेर चाहिँदैन भन्ने उदाहरण दिएकी छिन् । करिश्माको आँट र विश्वासले नेपालका दुर्गम भेगका महिलालाई पनि सकारात्मक सन्देश दिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्