संविधानको भावनाबमोजिम प्रदेश प्रहरी : मुख्यमन्त्री राउत



जनकपुरधाम : मुख्यमन्त्री लालबाबु राउतले संविधानको भावनाबमोजिम प्रदेश प्रहरी गठन गर्न लागेको बताएका छन् ।

 

६३ औं प्रहरी दिवसको अवसरमा प्रदेश प्रहरी कार्यालय प्रदेश २ जनकपुरले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रदेश प्रहरी विधेयक चाँडै प्रदेशसभाबाट पारित हुने विश्वास व्यक्त गरे । 

प्रहरी प्रणालीलाई पुनर्संरचना गरी मुलुकमा सक्षम, सुदृढ र व्यवसायिक प्रहरी संगठनको रुपमा रुपान्तरण गर्नु आजको आवश्यकता रहेको उनले बताए । समायोजन, सहकार्य र समन्वय संघीय प्रहरी ऐनबमोजिम नै हुनेमा उनले जोड दिए ।

  

संविधानले नै सहकार्य र सहअस्तित्वको परिकल्पना गरेको हुनाले सोहीबमोजिम प्रदेश सरकारले प्रदेश प्रहरी गठन गर्न लागेको उनले स्पष्ट पारे । ‘प्रहरी संगठनले परिवर्तित परिवेशको भावनाअनुरुप कार्य गर्ने विश्वास लिएको छु’, उनले भने, ‘प्रदेश प्रहरी प्रदेश सरकारको अभिन्न अंग हो, उनले थपे, ‘यसले संघीयतालाई आत्मसात गरेको छ ।

 

उक्त अवसरमा प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले अवशेषमुखी प्रहरी संरचनालाई आधुनिकीकरण गर्नुपर्नेमा जोड दिए । 

 

प्रदेश २ का प्रहरी नायब महानिरीक्षक दिनेश अमात्यको अध्यक्षतामा भएको कार्यक्रममा महिला हिंसा न्यूनीकरणमा समाज र प्रहरीको दायित्व विषयक निबन्ध प्रतियोगितामा उत्कृष्ट विद्यार्थीलाई नगदसहित पुरस्कृत गरिएको थियो ।

 

प्रहरी कार्यमा सहयोग गरेका सहयोगीलाई पनि प्रशंसापत्र प्रदान गरिएको थियो । उनीहरुलाई मुख्यमन्त्री राउतले पुरस्कार र प्रशंसापत्र प्रदान गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्