एकैदिन जुधे ‘गोपी’, ‘सयकडा दश’ र ‘रणवीर’



काठमाडौं :  नेपालमा हप्ताको २/३ वटा फिल्म प्रदर्शनमा आउनु अब नौलो कुरा होइन । कति फिल्महरु कहिले हलमा लाग्छ र हलबाट निस्कन्छ, त्यो कसैलाई थाहा हुँदैंन् । गत साता त्यस्तै भयो, हल्ला खल्ला बिनै तीन फिल्म प्रदर्शनमा आए । त्यसको जानकारी न दर्शकले पाए, न फिल्मका कलाकारहरुले नै पाए । सहरका भित्तामा टाँसिएका पोष्टरलाई हेरेपछि बल्ल थाहा पाए कि यी फिल्महरु रिलिज भएका छन् ।  

यसहप्ता पनि हलमा तीन नेपाली फिल्म प्रदर्शनमा आएका छन् । जसमा गाईपालक युवाको कथामा आधारित ‘गोपी’, मनोज गजुरेलको डेब्यू ‘भ्रष्टाचारविरुद्ध प्रेम’को नारा बोकेको फिल्म ‘सयकडा दश’ र दक्षिण भारतीय शैलीमा बनेको एक्सन, लभस्टोरी ‘रणवीर’ रिलिज भएको छ । तर यी फिल्मको प्रसंग अघिल्लो हप्ताभन्दा फरक छ । यी फिल्महरु विभिन्न कारणले बजारमा चर्चित छ ।  

वीपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त लगायतको मुख्य भूमिका रहेको फिल्म ‘गोपी’लाई फिल्म समीक्षक तथा रंग पत्रकार दीपेन्द्र लामाले निर्देशन गरेका छन् । यसअघि उनले ‘घामपानी’ निर्देशन गरेका थिए । यो फिल्म आरोही इन्टरटेन्मेन्टको ब्यानरमा बनेको हो । यस फिल्ममा पटकथा सामिप्यराज तिमल्सिनाको रहेको छ ।

त्यस्तै कार्यकारी निर्मातामा श्रीधर पौडेल, छायाकार शैलेन्द्र डी कार्की र सम्पादक निमेष श्रेष्ठको छन् । यस फिल्ममा प्रकाश घिमिरे, रमेश अधिकारी, अंकित खड्का, भोला सापकोटा, कमलमणि नेपाल, कुन्ती सिमाली, हिउँबाला गौतम, सरोज अर्याल, केशव राई लगायतको पनि अभिनय रहेको छ ।

‘सयकडा दश’लाई रामशरण पाठकले निर्देशन गरेका छन् । उनले यसभन्दा अघि ‘प्रेम गीत २’ निर्देशन गरेका थिए । यो फिल्म हास्य कलाकार मनोज गजुरेलका कारणले पनि चर्चामा छ । मनोज यसै फिल्मबाट डेब्यू गरेका हुन् । यो फिल्ममा कलाकार राजाराम पौडेलले पहिलोपटक लगानी गरेका छन् । यस फिल्ममा राजारामको मुख्य भूमिका रहेको छ ।

यस फिल्ममा अमृत ढुंगाना, करुणा श्रेष्ठ, अमित पोखरेल, सोनिया राई, उत्सव न्यौपाने, रवि डंगोल लगायतका कलाकारहरुको अभिनय रहेको छ । यस फिल्मको निर्मातामा रज्जु प्रधान, उत्तम खत्री, डीआर उपाध्याय र सञ्जिव न्यौपानेको रहेको छ । यस फिल्मको छांयाकार रामेश्वर कार्की हुन् । बनिष शाह र भूपेन्द्र अधिकारीको सम्पादन रहेको फिल्ममा रज्जु प्रधानको कथा रहेको छ ।

शुक्रबार नै प्रदर्शनमा आएको ‘रणवीर’ एक्सन र लभस्टोरी कथामा आधारित फिल्म हो । दक्षिण भारतीय फिल्ममा सहायक निर्देशन गरेका गोविन्दसिंह भण्डारीले यस फिल्मलाई निर्देशन गरेका छन् । यो फिल्मलाई  गोमा विष्ट थापा र दीपेन्द्र रेग्मीले निर्माण गरेका छन् ।

यस फिल्ममा सुशील सिटौला, प्रशान्त ताम्राकार, शुभेच्छा खड्का, सुपुष्पा भट्ट, रवि गिरी, नरेश पौडेल लगायतका कलाकारको अभिनय रहेको छ । यी तीनवटा फिल्ममा अब कुन फिल्मले बाजी मार्छ, त्यो केही दिनपछि थाहा हुन्छ । 

प्रतिक्रिया दिनुहोस्