दुई हजारभन्दा बढी नेपाली सीमा पारी, प्रधानमन्त्री भन्छन्– ‘अप्ठेरो बुझेका छौं’



काठमाडौं– नेपाल–भारत सीमामा रहेका नेपालीलाई निश्चित अवधि पूरा गरेपछि स्वास्थ्य परीक्षण गरेर नेपाल ल्याइने प्रधानमन्त्री केपी शर्मा ओलीलले जनाएका छन् ।

मंगलबार देशबासीको नाममा सम्बोधन गर्दै उनले नेपालीहरूले सीमामा भोग्नु परेको अप्ठेरो र भावनालाई बुझेको बताए ।

उनले भने– ‘सङ्क्रमणको जोखिमलाई न्यून गर्न हामीले अन्तर्राष्ट्रिय सीमामा आवतजावत बन्द गर्नैपर्ने बाध्यता छ ।’

भारत सरकारसँग समन्वय गरी सीमाको पारीपट्टि २ हजार १ सय ४७ नेपालीहरूलाई उतै क्वारेण्टाइनमा राखिएको जानकारी गराए । सीमाको वारीपट्टि रहेका करिब ७०० भारतीय नागरिकहरूलाई पनि क्वारेण्टाइनमा राखिएको उनको भनाई थियो ।

विश्वव्यापी रुपमा सङ्क्रमण फैलिँदै जाँदा विदेशमा रहेका कतिपय नेपालीहरूमा पनि सङ्क्रमण देखा परेको छ । केहीको दुःखद निधन समेत भएको छ । यस्तो अवस्थामा लाखौँको सङ्ख्यामा विदेशमा रहेका नेपालीहरु आफ्नो स्वास्थ्य सुरक्षालाई लिएर, रोजगारी अथवा पढाइलाई लिएर र समग्र भविष्यलाई लिएर चिन्तितमा छन् ।

प्रधानमन्त्री ओलीले सम्बोधनको क्रममा यो सङ्कटको घडीमा सरकारको सहानुभूति, साथ र सद्भाव उनीहरूप्रति रहेको बताए ।

‘हाम्रा दूतावास र मिशनहरु प्रवासी र गैर आवासीय नेपालीहरुका समस्या समाधानमा क्रियाशील छन् । गैरआवासीय नेपाली सङ्घ लगायत सामुदायिक संस्थाहरुले पनि सक्दो सहयोग गरिरहेका छन्–’ उनले भने ।
साथै उनले विदेशमा रहेका नेपालीहरूको स्थितिका बारेमा राष्ट्रपति स्वयंले नेपाली दूतावासहरु मार्फत जानकारी लिइरहेको पनि जानकारी दिए ।

नेपाली श्रमिक बहुल रहेका विभिन्न मुलुकका प्रधानमन्त्रीहरुसंग आफूले टेलिफोन संवाद सुरु गरेको पनि जनाए ।

उनले भने– ‘सङ्कटको वर्तमान घडीमा जो जहाँ छौँ, त्यहीँ सुरक्षित रहौँ ।’

प्रतिक्रिया दिनुहोस्