सकियो पत्रकार महिलाको राष्ट्रिय सम्मेलन



चितवन: पर्यटकीय नगरी पटिहानीमा जारी पत्रकार महिलाको राष्ट्रिय सम्मेलन १३ बुँदे पटिहानी चितवन घोषणापत्र जारी गर्दै शुक्रबार सम्पन्न भएको छ। पटिहानीमा १६ र १७ गते दुई दिन चलेको सम्मेलनमा २ सयभन्दा बढी पत्रकार महिला सहभागी थिए।

बन्दसत्रमा सहभागीले उठाएका मुद्दालाई समावेश गर्दै जारी गरिएको घोषणापत्रमा सरकारी सञ्चारमाध्यम, आयोग, समिति, सल्लाहकार, बोर्ड र कर्मचारी नियुक्तिमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चितताको तत्काल कार्यान्वयनका लागि माग गरिएको छ। आधारभूत र विषयगत तालिमको व्यवस्था मिलाउन माग गर्दै सम्मेलनले भौतिक र पेशागत सूरक्षाको सुनिश्चितताका लागि पेशागत स्थायित्वको उचित वातावरण निर्माण गर्न सरकारसँग आग्रह गरेको छ।

श्रम ऐनले व्यवस्था गरेका सुविधा उपलब्ध हुन नसककेको निष्कर्ष निकाल्दै सम्मेलनले हरेक सञ्चारमाध्यममा आन्तरिक लैङ्गिक नीति अनिवार्य रूपमा बनाई कार्यान्वयन गर्न सुझाएको छ। नीतिगत र नेतृत्व तहमा महिला सहभागिता सुनिश्चित भइनसकेको ठहर गर्दै सम्मेलनले महासङ्घको विधानमा प्रत्यक्ष निर्वाचन प्रणाली अङ्गीकार गरी अध्यक्ष वा महासचिव एक महिला हुनुपर्नै अनिवार्य व्यवस्था गर्न नेतृत्वको ध्यानाकर्षण गराइएको छ।

अधिकांश सञ्चारमाध्यमले पत्रकार नियुक्ति र पदोन्नति गर्दा समावेशी नीति अपनाएको नपाइएको भन्दै त्यो अवस्था तत्काल सुधार्न सञ्चालकलाई आह्वान गरिएको छ। सुत्केरी बिदा बसेकै कारण कतिपय पत्रकार महिलाको पदोन्नति रोकिएको सुनिनमा आएकाले अब आयन्दा पदोन्नतिमा बाधा अवरोध नपुर्याउन पनि अनुरोध गरिएको छ।

घोषणापत्र निर्माणका लागि दुर्गा कार्कीको संयोजकत्वमा गठित मस्यौदा समितिमा राधेश्याम खतिवडा, सुचित्रा श्रेष्ठ, शान्ता अधिकारी, गङ्गा पौडेल बराल, कमला पन्थी, रिङ्कु मिश्र, विमला भण्डारी र सञ्चिता घिमिरे सदस्य रहेका छन्।सम्मेलनको बिहीबार एक कार्यक्रमबीच पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्