विपन्न परिवारका लागि सहकारी संस्थाको १ करोड ५० लाख



झापा : झापामा संचालित विभिन्न सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत विपन्न परिवारका लागि राहत सामग्री प्रदान गर्न १ करोड ५० लाख सहयोग गरेका छन् ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड-१९ को संक्रमण फैलन नदिन दुई साता अघिदेखि मुलुक लकडाउन भएसँगै विपन्न परिवारलाई खानाखान समस्या भएको भन्दै स्थानीय तहसँग समन्वय गर्दै सहकारीले राहत सामग्री खरिदका लागि आर्थिक सहयोग गरेका हुन् ।

जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकालका अनुसार सहारा नेपाल सहकारी संस्था लिमिटेड बिर्तामोडले मात्रै ५० लाखको सहयोग गरेको छ ।

प्रदेश नं.१ सरकार, स्थानीय तह, जिल्ला विपद् व्यवस्थापन समन्वय समितिसँगको सहकार्यमा आइसोलेशन, क्वारेन्टाइमा बसेका र विपन्न परिवारको खाद्यन्न तथा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका लागि पीपीई खरिद सहयोगका लागि ५० लाखको राहत कोष खडा गरिएको हो । सहकारीका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीका अनुसार सहकारीले सहारा कर्मचारी मानवीय सहायता कोष’ बाट विपद्मा परेकालाई सहयोग गर्न ५० लाखको कोष खडा गरेको र सोही कोषबाट सहयोग गरिएको हो ।

त्यस्तै नेपाल बहुउद्देश्यीय सहकारी संस्था मेचीनगरले १७ लाख, बिर्तामोडमा रहेका कर्णाली, सिम्रिक सहकारी संस्थाले ८-८ लाख र हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले ५ लाख ९ हजार, पूर्वी नेपाल सहकारी संस्थाले ४ लाख तथा मेची सहकारी संस्थाले २ लाख ३ हजार राहत कोषका लागि सहयोग गरेको जिल्ला सहकारी संघका अध्यक्ष ढकालले बताए ।

कतिपय सहकारी संस्थाले सोझै खाद्यान्न सहयोग गरेका छन् । स्थानीय तहसँग समन्वय गर्दै झापाका १५ वटै स्थानीय तहमा सहयोग गर्ने २ दर्जनभन्दा बढी सहकारी छन् अध्यक्ष ढकालले भने, “ अहिलेसम्मको तथ्याङ्कमा विपन्न परिवारका लागि खाद्यान्न सहयोग गर्न झापाका सहकारीले १ करोड ५० लाख सहयोग गरेका हुन् । १ लाख र ५० हजार सहयोग गर्ने धेरै सहकारी छन् ।”

जिल्लामा रहेका २ ठूला सहकारी संस्थाले आफ्ना सदस्यलाई निव्र्याजी सापटी रकम प्रदान गर्न शुरु गरेका छन् । घर खर्च चलाउन समस्या परेका सदस्यलाई २ महिनासम्मका लागि ५-५ हजार सहकारीले निब्र्याजी दिन थालेको जिल्ला सहकारी संघ झापाका अध्यक्ष ढकालले बताए । रासस

प्रतिक्रिया दिनुहोस्