उपत्यकाका खानेपानीमा आउन थाल्यो ढल



काठमाडौं:  काठमाडौं उपत्यका खानेपानी लिमिटेडले राजधानीमा वितरण गर्दै आएको खानेपानीमा ढल आउन थालेको छ । उपभोक्ताका अनुसार काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को चरम लापर्बाहीका कारण खानेपानीमा ढल आउन थालेको हो । खानेपानी लिमिटेडले उपत्यकामा दैनिक करिब १३ करोड लिटर पानी वितरण गर्दै आइरहेको छ । केयूकेएलले आपूर्ति गर्दै आएको मैतिदेवी, घट्टेकुलो, सामाखुसी, गोंगबु, माछापोखरी, नयाँबजार, महाराजगन्ज,बसुन्धरालगायतका अधिकांश ठाउँमा खानेपानीमा ढल मिसिएर आउन थालेको ती क्षेत्रका बासिन्दाको गुनासो छ ।  यी क्षेत्रमा हिउँदयाममा प्रायजसो खानेपानीमा ढल मिसिएर आउने गरेको उपभोक्ताको भनाइ छ ।

काठमाडौं उत्यकाका अधिकांश ठाउँमा साताको एक दिन मात्र पानी आउँछ । घट्टेकुलो बस्तै आएकी पुनमदेवी रावल शुक्रबार धारामा खानेपानी आउँछ भनेर घरमा बसिरहेकी थिइन् । उनले पानी भर्नका लागि घरमा भएका सबै भाडा खाली गरेर राखेकी थिइन् । साँझको ४ बजेको थियो । सबैको घरमा पानी तान्ने मेसिन चल्न थालेपछि उनले पनि मेसिनबाट पानी तान्न थालिन् । धारामा पानीको साटो साबुनको फिजसँगै ढल आएपछि उनी आजित भइन् ।

उनले भनिन्, ‘महिनाको चार दिन धारामा पानी आउँछ, त्यो पनि ढल मिसिएर उफ ! के गर्ने हो ।’ उनले धारामा पानीभन्दा धेरै ढल मिसिएर आउन थालेपछि आफूहरुले राम्ररी पानीसमेत पिउन नपाएको गुनासो गरिन् । । ‘सरकारलाई पानीको बिल तिरेर पनि के गर्नु पानी नै खान पाइँदैन्, पानी आउँछ उल्टो ढलसहितको । बिरामी नै भएर मरिन्छ कि जस्तो भइसक्यो,’ पुनले भनिन् ।‘खै जनताका लागि सरकार त मरेजस्तो छ । न जनताले सफा पानी खान पाएका छन् न त गुणस्तर खाना’ उनले गुनासो गर्दै भनिन् ।

यस्तै, मैतिदेवीमा बस्तै आएकी टंकु खड्का पनि खानेपानीमा ढल मिसिएर आउन थालेपछि आजित बनेकी छन् । दुई साताको एकपटक पानी आउँछ त्यो पनि ढल मिसिएर कसरी खाने ? उनको प्रश्न छ । ‘खानेपानीका लागि भनेर सरकारलाई महिनामा १२ सय बुझाउनुपर्छ तर धारामा पानी होइन ढल आउँछ,’ उनले भनिन् । 

हैजा, आउ र पखालाले पेटमा संक्रमण हुन सक्ने

चिकित्सकहरूका अनुसार स्वस्थ्य रहन कम्तीमा दैनिक ३ लिटर पानी पिउनुपर्छ । नेपालको संविधान २०७२ को मौलिक हकमा सबै नेपालीले स्वस्थ्य भएर बाँच्न पाउने प्रावधान राखिएको छ तर सकारकारले नै वितरण गर्ने पानीमा ढल मिसिएर आएपछि उपभोक्ताले संविधानको मौलिक हकको प्रावधानमाथि नै प्रश्न उठाएका राजधानीमा खवर छ । 

 

प्रतिक्रिया दिनुहोस्