मेयरदेखि सांसदसम्मले लगाए झाडु



काठमाडौँ : वाग्मती सफाइ महाअभियान शुरु भएको आगामी शनिबार ३०० हप्ता पूरा हुन्छ । विसं २०७० जेठ ५ गते शुरु भएको वाग्मती सफाइ महाभियान जाडो, गर्मी, चाडवाड जस्तोसुकै अवस्थामा पनि जारी छ । विश्वले देख्ने र देशकै लागि गौरवको रुपमा रहेको काठमाडौं उपत्यकाको एउटा महत्वपूर्ण खण्ड ललितपुर चक्रपथ र ललितपुर महानगरलाई सरसफाई तथा स्वच्छतामार्फत सुन्दर बनाउन ललितपुर ३ का सांसद पम्फा भुषाल र ललितपुर महानगरपालिकाका मेयर चिरिवावु महर्जन शनिबार झाडु लिएर सानेपा नख्खु खण्डको सडकमा निस्किँदा स्थानीय संघसंस्था, नागरिक समुदाय तथा सफाई क्षेत्रमा क्रियाशील संघसंस्थाले साथ दिएका थिए ।

ललितपुर चक्रपथ सरसफाई तथा सुन्दरता अभियानको दोश्रो हप्ताको सरसफाई कार्यक्रम सांसद भुषाल, महानगरका मेयर महर्जन, प्रदेश सांसद राजकाजी महर्जन, महानगर उपप्रमुख गीता सत्याल, विभिन्न वडाका वडाध्यक्षहरु, विभिन्न सरसफाई सम्बद्ध संघसंस्थाका प्रतिनिधिहरु र प्रहरीका विभिन्न युनिटको सहभागिता रहेको थियो ।

प्रतिष्ठित व्यक्तित्वहरुको सहभागितामा भएको अभियानमा क्रमश स्थानीयको सहभागिता बढ्ने क्रममा रहेको अभियान संयोजक लक्ष्मीप्रसाद गेलालले बताए । अभियानले चक्रपथसंग जोडिएका घर पसल तथा औद्योगिक संघसंस्थाहरुलाई सचेत गर्दै सरसफाई अभियानमा परिचालन गरिएको अभियानका सदस्य सचिव सशदेव राउतले बताए ।

वागमती सफाई अभियान, हनुमन्ते सफाई अभियान, चक्रपथ सफाई अभियान लगायतका विभिन्न अभियानहरुबाट प्रेरित भएर ललितपुरमा विगत लामो समयदेखि फोहोरमैलाको प्राविधिक व्यवस्थापनमा काम गर्दै आएका संघसंस्थाहरु मिलेर अभियानको सुरुवात गरेको अभियानका फोकल पर्सन लक्ष्मीप्रसाद घिमिरेले बताए । दोश्रो दिनको सफाई अभियानबाट ५ टन फोहोर संकलन गरिएको अभियन्ता तथा सिर्जनशील वातावरण केन्द्रका श्याम राउतले बताएका राजधानीमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्