कोरोना सङ्क्रमितको अवस्था सामान्य : स्वास्थ्य मन्त्रालय



काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप नयाँ व्यक्तिमा कोभिड–१९ को सङ्क्रमण नदेखिएको र सङ्क्रमितको अवस्था पनि सामान्य रहेको जानकारी गराएको छ ।

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप नयाँ कोरोना सङ्क्रमित व्यक्ति नभएको भन्दै हालसम्ममा तीन हजार ५२४ व्यक्तिको कोरोना सङ्क्रमणको नमूना परीक्षण गरेको बताए ।

उनले गत २४ घण्टामा ६ सय ३० वटा परीक्षण गरिएको जानकारी दिए । आठ सय बढी परीक्षणको क्रममा छ । हाल नेपालभरि आठ हजार ६ सय ६० जना क्वारेन्टाइनमा छन् । आइसोलेसनका व्यक्तिको सङ्ख्या १ सय २५ रहेको छ ।

प्रवक्ता देवकोटाले प्रत्येक प्रदेशमा क्वारेन्टाइनमा रहेका व्यक्तिको परीक्षणका लागि प्रतिप्रदेश पाँच हजारका दरले ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) सामग्री प्रदान गरिएको बताए । बागलुङ, म्याग्दी र पर्वतका स्वास्थ्यकर्मीलाई ¥यापिड डाइग्नोस्टिक टेस्टसम्बन्धी तालीम दिइएको र परीक्षणसमेत शुरु गरिएको सो अवसरमा जानकारी दिइयो ।

सङ्कटको समयमा जनशक्ति अभाव नहोस् भन्दै मन्त्रालयले सेवा बाहिरका र सेवा निवृत्त चिकित्सकलाई स्वेच्छिकरुपमा सेवामा आबद्ध हुन आग्रह गरेको छ । मन्त्रालयले छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीलाई परिचालन गर्ने भएको छ । विपत्मा सहयोगका लागि स्वास्थ्य सेवामा कार्यरत कर्मचारीको सेवा सुविधा काट्ने किसिमको निणय मन्त्रालयले नगरेको भन्दै उच्च मनोबलका साथ काम गर्न मन्त्रालयले आग्रह गरेको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्