ड्राइभिङ सिक्न सरकारी गाडीको दुरुपयोग



दैलेख : शनिबारको दिन। बिहान करिब ८ बजेतिर काँडेचौरमा घाम ताप्दै थिए स्थानीय। चौरको बीचभागमा एउटा सेतो नम्बर प्लेटको स्कारपियो जिप यताउता गुडिरहेको थियो। धेरै समय चौरमा सरकारी नम्बर प्लेटको जिप गुडिरहेको देखेपछि घाम ताप्दै गरेका स्थानीयले त्यस जिपबारे चासो दिन थाले। बिदाको दिन सरकारी गाडी धेरै समय चौरमा गुडिराखेको देखेपछि स्थानीयले महावु गाउँपालिकाको सरकारी जिप चौरमा सिक्न प्रयोग भइरहेको थाहा पाए।

महावु गाउँपालिकाले भर्खरै मात्र खरिद गरेको बा.२ झ ४१५३ नम्बरको जिप गाउँपालिकाकै कम्प्युटर अपरेटर राजेशकुमार हमालले सिक्न शनिबार प्रयोग गरेको खुलेको छ। गाउँपालिका अध्यक्ष जंगबहादुर शाहीले गाडी बिग्रिएका कारण ग्यारेजमा मर्मत गर्न लगिएको बताए पनि सिक्नका लागि दुरुपयोग गरिएको पाइएको हो। उक्त गाडीको फोरह्विल भाँचिएको र ग्यारेजमा लगिएको अध्यक्ष शाहीको भनाइ छ। गाउँपालिकाले जिप खरिद गरेको महिना दिनमै मर्मत गर्न लैजानुपर्ने बताउँदै गर्दा सो जिप अत्यधिक दुरुपयोग भएको स्थानीय बताउँछन्।

त्यस्तै, नारायण नगरपालिकाले भर्खरै मात्र वडाध्यक्षको सुविधाका लागि खरिद गरेका ११ वटा मोटरसाइकलमध्ये अधिकांश दुरुपयोग भएको पाइएको छ। वडा नम्बर ११ को मोटरसाइकल स्थानीय एक विद्यालयका शिक्षकले चलाउँदै आएको भेटिने गरेको छ। नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले ती मोटरसाइकल सदुपयोग गर्न वडाध्यक्षलाई पटक–पटक निर्देशन दिँदादिँदै दुरुपयोग रोकिएको छैन। यी प्रतिनिधिमूलक घटना मात्रै हुन्। यस्तै, जिल्लाका अन्य सरकारी नम्बर प्लेटका गाडी पनि दुरुपयोग भइरहेका बेला सम्बन्धित निकायले चासो नदेखाएको अन्नपुर्णमा खवर छ । 

प्रतिक्रिया दिनुहोस्