‘सय कडा दश’ हेर्दा रोए मन्त्री पण्डित



काठमाडाैं : संघीय मामिला तथा स्थानिय विकास मन्त्री लालबाबु पण्डित, मुख्य सचिव लोकदर्शन रेग्मी, अख्तियारका पूर्व प्रमुख सूर्यनाथ उपाध्याय सहित सरकारका उच्च पदस्थ कर्मचारीले शनिबार फिल्म ‘सय कडा दश’ हेरेका छन् ।

 

काठमाडांैको कुमारी हलमा यो फिल्म हेर्न पुगेका मन्त्री पण्डितले विषयवस्तु, प्रस्तुति, सन्देश र मौलिकताको आधारमा राष्ट्रिय फिल्म तय गरिनु पर्ने बताएका छन् । भ्रष्टाचारको कथालाई उठान गरेको कारणले पनि यो फिल्मलाई ‘राष्ट्रिय फिल्म’ तोकिनु आवश्यक रहेको उनको भनाई छ । यो फिल्म हेर्दा आफू पटक–पटक रोएको भन्दै मन्त्री पण्डितले फिल्म हेर्न यूवाहरुलाई आग्रह गरेका छन् ।

 

उनले कलाकार राजाराम पौडेलको अभिनयको खुलेर प्रशंसा गरेका छन् । अख्तियार पूर्व प्रमुख उपाध्यायले भ्रष्टाचार नियन्त्रण प्रयासका लागि फिल्म सशक्त माध्यम भएको बताएका छन् । यो फिल्मलाई  रामशरण पाठकले निर्देशन गरेका छन् । फिल्ममा मनोज गजुरेल, राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।

 

यस फिल्मको छायांकन काठमाडाैं, पोखरा, सिन्धुली, पाँचथर लगायतको ठाउँमा गरिएको छ । यस फिल्मले भ्रष्टाचार विरुद्ध सदाचार समाजको निर्माणका लागि एक पात्रले गरेको संघर्षको कथालाई देखाएको छ । यस फिल्मलाई रामेश्वर कार्कीले छायांकन गरेका छन् ।

 

यस फिल्ममा बनिश शाहको सम्पादन, दीलिप ओखडाले नृत्य निर्देशन र कल्याण सिंहको संगीत रहेको छ । यो फिल्म दर्शन नेपाल क्रिएसन प्रालिको ब्यानरमा बनेको छ । यस फिल्मलाई रज्जु प्रधान र उत्तम खत्रीले निर्माण गरेका छन् ।  

प्रतिक्रिया दिनुहोस्