बागलुङकी एक महिलामा भेटियो कोरोना, पुनः परीक्षणका लागि पोखरा पठाइने



बागलुङ : बागलुङमा अर्को एक महिलामा कोरोना संक्रमण भएको छ । आइतबार द्रुत परीक्षण (र्‍यापिड डाइगोनोस्टिक टेष्ट) का क्रममा उक्त महिलाको कोरोना परीक्षण पोजेटिभ आएको हो ।

काठेखोला गाउँपालिका–६ की ६५ वर्षीया महिलाको परीक्षण पोजेटिभ आएपछि थप परीक्षणका लागि पुनः स्वाब संकलन गरेर पोखरा वा काठमाडौं पठाउने तयारीमा रहेको बागलुङका प्रमुख जिल्ला अधिकारी गौलोचन शैजुले जानकारी दिए।

आइतबार उक्त गाउँपालिकामा ७ जनाको द्रुत परीक्षण गरिएको थियो ।

र्‍यापिड टेष्टमा पोजेटिभ देखिएपछि अहिले महिलालाई गाउँपालिकाकै क्वारेन्टाइनमा राखिएको छ। उनी केही साता अघि मात्रै गाउँका सर्वसाधारणसँगै मिलेर भारतको तीर्थयात्राबाट फर्किएकी हुन्।

गत शुक्रबारदेखि जिल्लाभर थालिएको कोरोनो भाइरस (कोभिड–१९) र्‍यापिड डाइगोनोस्टिक टेष्टमा शनिबारसम्म ४ सय ७६ जनाको गरिएकोमा सबैका रिपोर्ट नेगेटिभ आएको थियो।

यसअघि दुई जनामा संक्रमण पुष्टि भएसँगै बागलुङ जिल्लालाई जोखिमयुक्त जिल्लाको सूचीमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्