नारायणगढ–मुग्लिनमा किन अघि बढेन १४ पुलको काम ?



काठमाडौँ : चितवनको नारायणगढ–मुग्लिन सडक खण्डमा १४ वटा पुल निर्माणको काम अझै अघि बढ्न सकेको छैन । १८ पुलमध्ये ४ वटाको मात्र निर्माण जारी रहेको र बाँकी १४ पुल निर्माणका लागि सर्भे भइरहेको सडक विभागले जनाएको छ । विभागको पुल महाशाखाका अनुसार भौगोलिक बनावटका कारण निर्माणमा ढिलाइ भएको हो । धेरैजसो पुल भएको ठाउँमा भीर छ । उभिएर काम गर्न गाह्रो छ । ‘सर्भे गर्न पनि जोखिम छ, एउटै पुलको सर्भे गर्न २/३ दिन लाग्छ,’ महाशाखा प्रमुख दीपक भट्टराईले भने, ‘गाडी निरन्तर चलिरहेका हुन्छन्, चाँडो सर्भे सकेर निर्माण अघि बढाउन लागिपरेका छौं ।’

उनले ठेक्का लगाउन डकुमेन्टहरू बनाउनुपर्ने उल्लेख गर्दै अहिले त्यसको प्रारम्भिक काम र साइट भेरिफिकेसन भइरहेको बताए । ठेकेदारले नै डिजाइन गर्ने हिसाबले काम हुने महाशाखाले जनाएको छ । महाशाखा प्रमुख भट्टराईले निर्माण अघि बढ्न नसकेका १४ मध्ये ८ वटा पुल निर्माणको टेन्डर डेढ महिनाभित्रमा हुने बताए । ‘बाँकी ६ वटा पुलको सर्भे चाइनिज विज्ञहरूलाई बोलाएर गर्दैछौं, जसको निर्माण केही ढिला हुनेछ,’ उनले भने ।

भट्टराईका अनुसार ६ मध्ये पनि सबैभन्दा जटिल पुल ३ वटा छन् । खहरे, चिसेन्जी र तुइन खोलाको पुल भीरमा भएकाले सर्भे गर्न समस्या भएको छ । ‘यी तीन पुल जोखिमयुक्त स्थानमा छन्,’ उनले भने, ‘यो ठाउँमा कसरी पुल बनाउने ? नयाँ प्रविधि के प्रयोग गर्न सकिन्छ भन्नेबारे चिनियाँ विज्ञले सर्भे गरेपछि थाहा हुने छ, त्यसपछि निर्माण प्रक्रिया अगाडि बढ्ने छ ।’ उनका अनुसार समस्या रहेका अन्य पुलमा काली खोला, तोपे खोला र नाम्सी खोला छन् ।

‘आठवटा पुलको प्रारम्भिक तथ्यांक आउनेबित्तिकै कन्ट्रयाक्टमा जाने छौं,’ उनले भने, ‘यी पुलका एकैचोटि ठेक्का लाग्नेछन्, त्यसपछि ठेकेदारले नै डिजाइन गरेर निर्माण गर्ने छन् ।’ यो सडकमा दैनिक सवारी चाप हुन्छ । पुल साँघुरा छन् । सडक फराकिलो भए पनि पुलकै कारण जाम हुने गरेको छ । पुरानो पुललाई छाडेर नयाँ निर्माण गरिने छ । पुरानामा पनि सवारी साधन चल्नेछन् । महाशाखाका इन्जिनियरहरूको टोलीले यसअघि पनि पुल सर्भे गरेको थियो । दुईवटा पुलको सर्भे सकेर काम टेन्डरमा जाने भनिए पनि तत्काल निर्माण गर्न सकिने ८ वटा पुल भएकाले एकैचोटि टेन्डर गर्न लागिएको हो ।

सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार जलवीरे, मौरी, खानी र दासढुंगा पुलको निर्माण धमाधम भइरहेको छ । ‘समग्रमा पुल निर्माणको काम ५५ प्रतिशत सकिएको छ,’ उनले भने, ‘जलवीरेमा भने निर्माण प्रगति ३४ प्रतिशत मात्र छ ।’ यो खण्ड भएर दैनिक सानाठूला करिब १० हजार सवारीसाधन ओहोरदोहोर गर्छन् । सबै पुल निर्माण गर्न १ अर्ब बजेट लाग्ने अनुमान गरिएको कान्तिपुरमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्