गैंडा मर्न थालेपछि नमुना परीक्षण गर्ने तयारी



चितवन :  चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा अस्वाभाविक तवरले गैंडा मर्न थालेपछि मरेका गैंडाको नमुना परीक्षण गरिने भएको छ । गैडाको मृत्यु हुनुको कारण पत्ता लगाउन नमुना परीक्षणका लागि विदेश पठाउन लागिएको हो ।

निकुञ्जका अनुसार यस आर्थिक वर्षको हालसम्म २९ गैडा मरेका छन् ।   गैंडा मर्ने क्रम बढेपछि अनुसन्धानका लागि समिति बनाएर अध्ययन थालिएको हो ।

पछिल्लो एक महिनामा मरेका सात गैडा फेला परेका निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेले बताए । वर्षायाममा कालगतिले मरेका तर हाल फेला परेका धेरै भएको उनले बताए ।

प्राकृतिक कारणले मरेकामध्ये निकुञ्जभित्रका २८ र जिल्ला वन कार्यालयअन्तर्गत एउटा रहेको छ । निकुञ्जभित्र प्राकृतिक कारणले मरेकामा भाले भाले जुधेर, ढिस्कोबाट लडेर, बच्चा पाउन नसकेर, दलदलमा फसेर र बूढो भएर कालगतिबाट, बाघले खाएर, रोगका कारण रहेका छन् । जिल्ला वनअन्तर्गतको पञ्चकन्या सामुदायिक वनमा भने जुधेर एउटा गैडा मरेको बताइएको छ ।

निकुञ्जमा मरेका गैडा प्रायः १५ देखि २५ वर्ष उमेरका रहेको घिमिरेले बताए। गैंडाको औसत आयु ६० वर्ष हुन्छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले अस्वाभाविक ढंगबाट गैंडा मर्न थालेपछि रोगका कारण मरेका चारसहित अन्यको नमुना परीक्षणका लागि स्वदेश र विदेशका प्रयोगशालामा पठाउने तयारी गरिएको बताए । उनका अनुसार मरेका गैंडाको महत्वपूर्ण अंग सुरक्षित राखिएको छ । ती अंगलाई बाहिर पठाएर मृत्युको कारण पत्ता लगाइने छ ।

गैडाको संख्या धेरै भएकाले महामारीको रुप लिन नपाओस् भनेर समयमै सतर्कता अपनाउने तयारी गरिएको हो । निकुञ्जका प्राविधिक पुरुषोत्तम पाण्डेका अनुसार मरेका र नसडेका गैंडाको मुटु, कलेजो, पित्त, मिर्गौला, मूत्रथैली, रगतलगायतका नमुना डिपफ्रिज र इथानोल अल्कोहलमा सुरक्षित राखिएको छ । मरेपछि कुहिएको अवस्थामा भेटिएका गैडाको छाला पनि सुरक्षित राखिएको निकुञ्जले जनाएको छ ।

गत वर्ष बाढीले गैडाको समूहलाई तितरबितर बनाएपछि प्राकृतिक कारणले बढी गैडा मरेको ढकालले बताए। गत वर्ष  २५ गैडा प्राकृतिक कारणले मरेका थिए । पूर्वका गैंडा पश्चिम पुगेपछि एकै क्षेत्रमा बढी गैडा हुँदा पनि समस्या भएको हो । स्थानान्तरणका क्रममा पोथी गैंडा बढी पठाइएपछि भालेको संख्या बढी हुँदा पनि जुधेर मर्ने क्रम बढेको ढकाल    बताउँछन् ।

निकुञ्जका अनुसार सन् २०१४ मा आठ, २०१५ मा १५, २०१६ मा १४ र सन् २०१७ मा २४ गैडा प्राकृतिक कारणले मरेका थिए । हालसम्म प्राकृतिक कारणले सबैभन्दा बढी मर्ने क्रम यस वर्ष देखिएको छ । यसअघि चोरीसिकारीबाट सबैभन्दा बढी सन् २००२ मा ३६, सन् २००३ मा ३०, सन् २००५ मा १६ र सन् २००० मा १५ गैडा मारिएका थिए । पछिल्लो समय चोरीसिकारीबाट मारिने क्रम घटेर गएको छ ।

चोरीसिकारीबाट गैडा नमरे पनि प्राकृतिक कारणबाट मर्नेको संख्या बढेपछि चिन्ता व्यक्त गरिएको छ । निकुञ्जमा सशस्त्र द्वन्द्वको समयमा धेरै गैंडा चोरीसिकारीबाट मारिएका थिए । पछिल्लो गणनाअनुसार निकुञ्जमा ६०५ गैडा छन् । चालु आर्थिक वर्षमा पुनः गैंडाको गणना गरिदै छ ।

प्रतिक्रिया दिनुहोस्