प्रदेश २ को कोरोना अपडेटः २ सय ८१ को नेगेटिभ, ४ को पोजेटिभ



जनकपुरधाम : प्रदेश २ मा बुधबारसम्म ४ सय ५८ जना कोरोना भाइरसका शंकास्पद बिरामीहरुको थ्रोट स्वाब परिक्षण गरिएको छ । ती मध्ये ४ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ भने २ सय ८१ जनाको रिपोर्ट नेगेटिभ आएको छ । १ सय ७३ को रिपोर्ट आउन बाँकी रहेको छ ।

भारत लगायत अन्य देशबाट फर्केर नेपाल आएका कोरोना भाइरसका शंकास्पद व्यक्तिहरुलाई क्वारेन्टाइनमा राख्ने क्रमसमेत जारी रहेको छ ।

प्रदेश २ मा कोरोना भाइरस संक्रमणको आशंकामा विभिन्न जिल्लामा निर्माण गरिएको ३ हजार २ सय ९५ बेड क्षमताको १ सय ६१ वटा क्वारेन्टाइनमा १ हजार ७ सय २६ जना शंकास्पद व्यक्तिलाई राखिएको सामाजिक विकास मन्त्रालयका सचिव डा.रामप्रसाद घिमिरेले जानकारी दिए ।

प्रदेशभरिमा अहिले १ हजार ५ सय ७७ जना व्यक्तिहरु होम क्वारेन्टाइनमा रहेका छन् भने २ सय २० बेड क्षमताको आईसोलेसनमा १५ जना भर्ना रहेको उनले बताए ।

सचिव घिमिरेका अनुसार रौतहटमा ७ सय ५ बेड क्षमताको १६ वटा क्वारेन्टाइनमा अहिले १ सय ७१ जना रहेका छन् भने १ सय ६८ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ । रौतहटमा ३५ बेड क्षमताको आईसोलेसनमा अहिले कुनै शंकास्पद बिरामी नरहेको बताइएको छ ।

त्यस्तै बारामा ४ सय ४ बेड क्षमताको १७ वटा क्वारेन्टाइनमा अहिले ४८ जनालाई राखिएको छ । बारा जिल्लामा निर्माण गरिएको ४८ वटा आईसोलेसन बेडमा अहिले २ जना शंकास्पद बिरामी रहेको घिमिरेले जानकारी दिए । बारामा अहिले ६० जना होम क्वारेन्टाइनमा छन् ।

पर्सामा २ सय ८६ बेड क्षमताको १४ वटा क्वारेन्टाइन बनाइएको छ । त्यहाँ ८६ जना क्वारेन्टाइनमा र १२ जना होम क्वारेन्टाइनमा रहेका छन् । पर्साको बिभिन्न ठाउँमा रहेको ३० बेडको आईसोलेसनमा अहिले ४ जना शंकास्पद बिरामीलाई राखिएको छ ।

सप्तरीमा ५ सय ८७ बेड क्षमताको ३२ वटा क्वारेन्टाइनमा अहिले २ सय ३२ जनालाई निगरानीमा राखिएको छ भने २ सय १२ जना होम क्वारेन्टाइनमा छन् । सप्तरीमा रहेको १३ वटा आईसोलेसन बेडमा अहिले ३ जना बिरामी भर्ना रहेको उनले बताए ।
सिरहामा २ सय ४६ बेड क्षमताको १७ वटा क्वारेन्टाइनमा अहिले १ सय ३० जना र होम क्वारेन्टाइनमा १ सय १२ जना रहेका छन् ।

त्यस जिल्लामा ४१ बेडको आईसोलेसन रहेकोमा त्यहाँ अहिले ५ जना शंकास्पद बिरामीलाई राखिएको छ ।
धनुषामा ३ सय ६२ बेड क्षमताको १७ वटा क्वारेन्टाइनमा अहिले १ सय २४ जनालाई राखिएको उनले जानकारी दिए । यस जिल्लामा १ सय १४ जनालाई होम क्वारेन्टाइनमा पठाइएको उनले बताए । प्रादेशिक अस्पताल जनकपुरमा १२ बेडको आइसोलेशन रहेकोमा त्यहाँ १ जना शंकास्पद बिरामीलाई आईसोलेसनमा राखिएको छ ।

त्यस्तै महोत्तरीमा ३ सय ४० बेड क्षमताको १८ वटा क्वारेन्टाइन बनाइएको छ । त्यहाँ अहिले ८ सय ४९ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ भने क्वारेन्टाइनमा ८० जनालाई राखिएको छ । महोत्तरीमा २६ बेडको आईसोलेसन रहेपनि अहिले ति आईसोलेशनमा कुनै शंकास्पद बिरामी नआएको उनले बताए ।

सर्लाही जिल्लामा ३ सय ६५ बेड क्षमताको ३० वटा क्वारेन्टाइनमा अहिले ७८ जना रहेका छन् भने ५० जनालाई होम क्वारेन्टाइनमा पठाइएको उनले बताए । १५ वटा आईसोलेशन बेड निर्माण गरिएपनि अहिले ति आईसोलेसनमा कुनै शंकास्पद बिरामी नरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्