गुरुकुलमा मञ्चन हुँदै ‘मुनामदन’



विराटनगर : विराटनगरस्थित आरोहण गुरुकुलमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको चर्चित कृति ‘मुनामदन’ मा आधारित नाटक मञ्चन हुने भएको छ । 

गुरुकुलको सुशीला कोइराला नाटकघरमा मंगलबारदेखि नाटक मञ्चन हुन लागेको हो । फागुन २ गतेसम्म हरेक दिन दुई सो मञ्चन गरिनेछ । मुनामदनको नाट्य रुपान्तरण युवा साहित्यकार कट्वाल दीपकले गरेका छन् । नाटक मञ्चन विराट आदर्श साहित्य मञ्चको आयोजनामा हुन लागेको हो ।

कलेज र विद्यालयले अग्रिम सो बुकिङ गरिरहेको मञ्चका प्रमुख सल्लाहकार मीनकुमार नवोदितले जानकारी गराए । मञ्चले युवा पुस्तालाई सिर्जनात्मक गतिविधिमा संलग्न गराउँदै सकारात्मक सोचको विकासबाट असल नागरिक बन्न प्रेरित गर्दै आएको छ ।

मञ्चनमा मोरङका विभिन्न कलेजमा अध्ययनरत विद्यार्थी आबद्ध छन् । नाटकमा तिनै विद्यार्थीले अभिनय गर्नेछन् । नाटकको निर्देशन सविन कट्टेलले गरेका छन् । यो नाटक गत वर्ष पनि गुरुकुलमा एक हप्ताभन्दा बढी मञ्चन भएको थियो । त्यसपछि काठमाडौंको शिल्पी थिएटर र मोरङको विराट चोकमा पनि एक–एक हप्ता मञ्चन गरिएको थियो ।

‘नाटक हेर्न आउने दर्शकले रुमाल बोकेर आउनुपर्छ,’ मञ्चको अध्यक्षसमेत रहेका कट्वाल दीपकले भने, ‘उति बेला युवा रोजगारीको खोजीमा ल्हासा जान्थे, अहिले खाडी जान्छन्, पीडा उही छ नेपालीको ।’ 

देवकोटाको सबैभन्दा चर्चित र लोकप्रिय कृति हो मुनामदन । ‘आफ्ना सबै कृति जलाइदिए पनि मुनामदनचाहिँ नजलाउदिनू’ भनेर देवकोटाले प्राण त्यागेका थिए । ‘यो नाटकले दर्शकको मन मात्रै जित्दैन मनसमेत पगाल्छ,’ नवोदित भन्छन्, ‘नेपालीको आर्थिक, सामाजिक र सांस्कृतिक पक्षलाई पनि नाटकले बलियोसँग उजागर गरेको छ ।’ 

 

प्रतिक्रिया दिनुहोस्