चलचित्र बोर्डकी अध्यक्ष निकिताको पद धरापमा



काठमाडौं :  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलसँग लिखित स्पष्टिकरण मागेको छ । चौमासिक समीक्षा बैठकका लागि पत्राचार गर्दा पनि निकिता अनुपस्थित भएको र बोर्डको काम सन्तोषजनक नरहेको भन्दै मन्त्रालयले निकितासँग स्पष्टिकरण मागेको हो ।

मन्त्रालयले आर्थिक वर्ष २०७५/७६ को बजेट कार्यान्वयनसम्बन्धी चौमासिक समीक्षा बैठक राखेको थियो । बैठकमा मन्त्रालयअन्तर्गत अन्य सबै संस्थान, बोर्ड समिति र निकायका प्रमुखहरुको सहभागिता थियो । तर बोर्डकी अध्यक्ष निकिता त्यहाँ उपस्थित भइनन् ।

बैठकमा बोर्डको प्रगति विवरण सुनाउन निकिता अनुपस्थित भएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मन्त्रालयका उच्च अधिकारीलाई यस विषयमा सोधेका थिए । मन्त्रालयकी सहसचिव राधिका अर्यालले निकितालाई खबर गरे पनि अनुपस्थित रहेको जवाफ दिइन् ।

निकिताले हालै टेलिभिजन प्रस्तोता रवि लामिछानेसँग कोर्ट म्यारिज गरेकी छन् । उनले विदा स्वीकृत पनि नगराएको मन्त्रालयका अधिकारीहरुले मन्त्रीलाई जानकारी दिएका   थिए । मन्त्री बाँस्कोटाले विदा स्वीकृत नगराई चौमासिक बैठक चलेको समयमा अनुपस्थित भएको हो भने तत्काल स्पष्टिकरण सोध्न र गोरखापत्रमा सूचना निकाल्न मन्त्रालयका अधिकारीहरुलाई निर्देशन दिएको स्रोतले जनाएको छ ।

मन्त्रालयले मन्त्रीको निर्देशनबमोजिम निकितालाई स्पष्टिकरण सोध्न पत्र तयार भइसकेको मन्त्रालय स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्