दसैं लागेसँगै दैनिक एक लाख यात्रु काठमाडाैं छाड्दै



काठमाडौं : दसैं नजिकिएसँगै उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्यामा वृद्धि हुँदै गएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाका विभिन्न नाकाबाट दैनिक एक लाखभन्दा बढी यात्रु बाहिरिने गरेका छन्।

 

उपत्यकाको थानकोट, जगाती, दक्षिणकाली र बालाजु नाका हुँदै यात्रु बाहिरिने गरेका छन्। महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार लम्सालका अनुसार असोज २३ गते घटस्थापनाका दिन एक लाख ३० हजार, २४ गते एक लाख ४४ हजार र २५ गते एक लाख १० हजार यात्रु बाहिरिएका छन्।

 

'दसैं लागेसँगै निजी सवारी साधनदेखि सार्वजनिक सवारीसाधनमा यात्रु बाहिरिने गरेका छन्,' उनले भने।

 

असोज २३ गते १२ हजार ६५५, २४ गते १३ हजार ५५१ र २५ मा १३ हजार १४७ सवारीसाधन उपत्यकाबाट बाहिरिएका थिए।

 

बिहीबारसम्म एक लाख ३२ हजार व्यक्तिले टिकट बुकिङ गरेका छन्। महाशाखाले दसैं, तिहार र छठ पर्वलाई लक्ष्य गरी उपत्यकाका १३ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ।

 

उपत्यकाको कलङ्की, स्वयम्भू, नयाँ बसपार्क, सातदोबाटो, गौशाला, चाबहिल, बल्खु, दक्षिणकाली, कोटेश्वर, सुन्धारा, बानेश्वर, पुरानो बसपार्क, नागढुङ्गा र जगातीमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। रासस

प्रतिक्रिया दिनुहोस्