किसानको तरकारी खेतीमा डोजर



चितवन : चितवनमा चारजना किसानले एकसाथ तरकारीखेतीमा डोजर लगाएका छन् । आफूले उत्पादन गरेको तरकारी उत्पादनले बजारभाउ नपाएपछि सोमबार चितवन खैरहनी नगपालिका–१ ज्यामिरेका नवराज भुसाल, इन्दिरा भुसाल, सूर्यप्रसाद भुसाल र कृष्ण सापकोटाले बन्दाकोभी र मुलाखेती नष्ट गरेका हुन् । दुई साताअघि खैरहनी नगरपालिका–६ तुलसीपुरका किसान पुरन महतोले १५ कट्ठा क्षेत्रफलमा लगाएको लाखौँ मूल्यबराबरको बन्दा र मुला नष्ट गरेका थिए । 

 सित्तैमा लैजानु भन्दा पनि बिचौलियाले मानेनन्

ज्यामिरेका नवराज भुसालले चारजना किसानले २४ कट्ठाभन्दा बढी क्षेत्रफलमा लगाएको बन्दा नष्ट गरेको जानकारी दिए । आफूहरूले लगाएको बन्दा एक रुपैयाँमा उठाउन आग्रह गर्दासमेत नलगेको उनको गुनासो छ । भुसालले १० कट्ठामा लगाएको बन्दामध्ये सात कट्ठाको जेनतेन बिक्री भए पनि तीन कट्ठामा लगाएको बन्दा व्यापारीलाई सित्तैमा लैजान आग्रह गर्दासमेत लैजान नमानेको बताए । ‘ढुवानी भाडासमेत नउठ्ने भन्दै व्यापारीले बारीको बन्दा सित्तैमा पनि उठाउन मानेनन् । हामी सीधै बजारसँग कारोबार गर्न सक्दैनौँ, बिचौलियको भर पर्दा मिहिनेतका साथ लगाइएको बन्दामा आफैले ट्र्याक्टर लगायौँ,’ उनले भने ।

ज्यामिरेकी इन्दिरा भुसालले ६ कट्ठा क्षेत्रफलमा लगाएको बन्दा नष्ट गरिन् । व्यापारीले भोलि लैजाउँला, पर्सि लैजाउँला भनेर झुलाएको उनले गुनासो गरिन् । ‘व्यापारी नआएपछि बारीको बन्दा कुहिन थाले, बाध्य भएर ट्र्याक्टर लगाउनुप¥यो,’ भुसालले भनिन् । गत वर्ष १५ कट्ठामा लगाएको बन्दाबाट उनले एक लाख ६० हजार रुपैयाँ नाफा कमाएकी थिइन् । अर्का किसान सूर्यप्रसाद भुसालको चार कट्ठा र कृष्ण सापकोटाको ११ कट्ठामा लगाएको बन्दाकोभी ट्र्याक्टर लगाएर नष्ट गरियो । चितवनमा उत्पादित तरकारी काठमाडौं, पोखरा, बुटवल, वीरगन्जलगायतका सहरमा बिक्री हुँदै आएका थिए । तर, पछिल्लो समय भारतबाट तरकारी आयात हुन थालेपछि आफ्नो तरकारी नबिकेको किसानको गुनासो रहेको खवर नयाँपत्रिकामा छ । 

प्रतिक्रिया दिनुहोस्