रानीपोखरी पुनर्निर्माणको जिम्मा प्राधिकरणलाई



काठमाडौं : सरकारले रानीपोखरी पुनर्निर्माणको जिम्मेवारी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिएको छ । १४ माघको मन्त्रिपरिषद् बैठकले रानीपोखरी र बालगोपालेश्वर मन्दिरलगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाको पुनर्निर्माणसम्बन्धी सम्पूर्ण कार्य प्राधिकरणले गर्ने गरी जिम्मेवारी दिने निर्णय गरेको हो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुरातत्व विभाग, काठमाडौं महानगरपालिका, विज्ञ, सरोकारवाला संघसंस्था, स्थानीय समुदायलगायतसँगको परामर्श र समन्वयमा प्रताप मल्लकालीन शैली, प्रविधि र निर्माण सामग्रीको प्रयोग गरी पुनर्निर्माण गर्ने बताए । ’परम्परागत शैली र मौलिकतालाई विेशेष ध्यान दिई पुनर्निर्माण कार्यलाई तत्काल अघि बढाइनेछ,’ उनले भने ।

रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण गुम्बज शैलीमा गर्ने कि ग्रन्थकुट/शिखर शैलीमा गर्ने भन्ने विवाद थियो । विज्ञहरूले दिएको सुझावसमेतका आधारमा प्राधिकरणले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्व विभाग एवं काठमाडौं महानगरपालिकालगायतसँग समन्वय तथा सहजीकरण गरी ग्रन्थकुट/ शिखर शैलीमा पुनर्निर्माण गर्ने निर्णय गरिसकेको खवर नयाँपत्रिकामा छ ।

प्रतिक्रिया दिनुहोस्