उदयपुरको भुल्केस्थित मस्जिद ‘सिल’ गर्ने तयारी



उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्केस्थित मस्जिद सिल गर्ने तयारी भएको छ ।
आज (शुक्रबार)सोही मस्जिदमा बस्दै आएका १२ भारतीय नागरिकमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएसँगै मस्जिद सिल गर्ने तयारी भएको हो ।

कोरोना संक्रमण पुष्टि भएका १२ भारतीय नागरिकलाई विराटनगरस्थित प्रादेशिक अस्पतालको आइसोलेसनमा लैजाने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडीले जानकारी दिए ।

लकडाउनकै अवधिमा भुल्के मस्जिदमा आएर बसेका ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ वर्षका पुरुषमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उनीहरुसँगै रहेका अन्य ४ नेपालीको पनि स्वाबको पिसिआर परीक्षण गरिएको थियो । उनीहरुमा भने पोजिटिभ देखिएको छैन । उनीहरु मोरङका हुन् ।

यसअघि पर्सा जिल्लाको छपकैयाँस्थित मस्जिदमा बसेका तीन भारतीय धर्मगुरुमा संक्रमण देखिएपछि उनीहरुसँग सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गरी र्यापिड टेस्ट गरिएको थियो । उनीहरुको स्वाब कोशी अञ्चल अस्पतालमा परीक्षण गरिएको थियो ।

अहिले उदयपुरमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने मस्जिद र आसपासका क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सुरक्षाकर्मीले मस्जिद र आसपासको क्षेत्रमा हिँडडुलमा रोक लगाएका छन् भने यो क्षेत्रलाई सिल गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी पहाडीले जानकारी दिए ।

कोरोना पोजेटिभ देखिएका १२ भारतीय विराटनगरबाट सप्तरी हुँदै उदयपुर आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाइएको छ ।

यसअघि गत फागुन २ गतेदेखि ५ गतेसम्म सप्तरीको वोदेबसाईन नगरपालिका–५ मा भएको अन्तर्राष्ट्रिय मुस्लिम धार्मिक सम्मेलनमा सहभागी हुन आएको अनुसन्धानमा देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्