सार्वजनिक यातायातमा अत्यासलाग्दो यात्रा



काठमाडौं: साँझ ५ :३० बजे। रत्नपार्कस्थित शान्तिवाटिकाअघि करिब १५ सय मानिस जम्मा भएका थिए। झट्ट हेर्दा कुनै सभा समारोहका लागि जम्मा भए जस्ता देखिन्थे। उनीहरुको आँखा बागबजारतर्फको आकाशेपुलमूनि सोझिएको थियो। जब पुलमूनि गाडी देखिन्थ्यो मानिसहरु आत्तिँदै पोकापुन्तरा बोकेर ढोकामा झम्टिन्थे। त्यही भिडमा बैसाखी टेकेर उभिरहेका थिए एक अपांग। उनको साथमा थियो ठूलो झोला। उनी माइक्रोको ढोकातर्फ जान कोसिस गरिरहेका थिए। तर, भिडले धकेलेर उनलाई किनारामा पुर्याइदिन्थ्यो। उनी फेरि अगाडि बढ्थे। भिडले फेरि धकेलेर किनारामा पुर्याइदिन्थ्यो। भिड कम हुँदै गएपछि बल्ल उनको पालो आयो। तर पनि माइक्रोमा खुट्टासम्म राख्ने ठाउँ थिएन। उनी अकमक्क भएर ढोकामा उभिइरहे।

‘खै अपांगको सिट ? ’ एक महिला ठूलो स्वरले कराउँदै आइपुगिन्। हिँड्न लागेको गाडि रोकियो। सहचालक अकमक्क परे। अपांगलाई नियालेर हेरे। अपांग सिटमा बसिरहेका थिए एक अधवैसे पुरुष। ढोकाको गलफत्ती उनले नसुनेझैँ गरिरहे। ति महिला फेरि कराउन थालिन्, ‘खै अपांग सिट ? उहाँलाई छाडिदिनु पर्‍यो एउटा सिट।’ कसैले सिट छाडेनन्। अपांगसिटबाट ती अधवैसे उठ्दै उठेनन्। निकै बेरपछि महिला सिटबाट एकजना अनकनाउँदै उठिन्। त्यहीं बसे अपांग। सहचालकले ढोका लगाए। बा १ ज १२९५ को माइक्रो जमलतर्फ हुँइकियो।

माकलबारीदेखि रत्नपार्कतिर गरेको निलो माइक्रोका चालक धनिराम चौधरी निरास थिए। गौरीघाटसम्म उनको माइक्रोमा भरिभराउ थियो। केही यात्रु ढोकामै झुण्डिएका थिए। मित्रपार्क चोकमा पुग्दा माइक्रो रित्तो भयो। धनीरामले आफ्नो माइक्रोमा चढेका यात्रीहरु नियाले। कुनै यात्री नदेखेपछि गौशालातर्फ दौडाए। निरास हुँदै उनले भने, ‘मित्रपार्कको उकालोमा माइक्रोले तान्दैन। चोकमा गएर बस्नु, त्यहाँ पुग्दा कोही हुँदैन। भाडै नदिइ सबै भाग्छन्।’ १८ वर्षदेखि माइक्रो चलाउँदै आएका सुनसरीका धनीराम निकै दु :खी थिए। उनी भन्दै थिए, ‘गाडी चढेपछि भाडा दिनुपर्छ भन्ने थाहा हुँदैन ? ’

आइतबार बेलुकी ६ बजे। पुरानो बसपार्कबाट ठिमीका लागि माइक्रो छुटयो। बा.२ ख. २५७७ को सवारी यात्रुले भरिएको थियो। तर सहचालक अझै मान्छे बोलाईरहेकै थिए। ‘अलि पछि सर्नुस् भनेको सुन्नुभएन ? ’ ढोकै छेउ उभिएका एक यात्रुलाई खलासीले सात्तो लिए। रिसाउँदै यात्रुले भने, ‘ठाउँ हुनुपरेन सर्न ? एकोहोरो कराएर मात्रै हुन्छ ? ’ बल्लबल्ल गाडीको ढोका लाग्यो। गाडी सिंहदरबार अगाडि पुग्यो। सहचालकले फेरि पछि सर्नु भन्दै कराए। उनले रुखो स्वरमा भने, ‘नसर्ने भए ओर्लिनुस्।’ एक यात्रुले भिडबाट कराए, ‘अघि किन चढाइस् ? बिच बाटोमा आराल्ने ? मुख सम्हालेर बोल्।’

पुरानो वसपार्कको दक्षिणकाली जाने रुट नं २२ मा पुरानो बस अघि उभिएकी थिइन्, बौद्धकी सरला न्यौपाने। चार वर्षे छोरासँगै उभिरहेकी उनी बस चढ्न नसकेर छेउ लागेकी थिइन्। उनले दिक्क मान्दै भनिन्, ‘यो दक्षिणकालीको बस कहिले नसुध्रिने भयो। जहिल्यै खाँदाखाँद हुन्छ। कहिलेकाहीँ त तीन लाइन उभ्याएर लैजान्छन्। सहचालकहरू पनि असाध्यै रिसाहा हुन्छन्।’ अन्नपुर्णपोष्टबाट

प्रतिक्रिया दिनुहोस्