१० वर्षदेखि पढाउँदै कार्यालय सहयोगी



सल्यान : शारदा नगरपालिका–६, खत्रीपोखरीका भीमबहादुर बुढाथोकी स्थानीय लक्ष्मी प्राविका कार्यालय सहयोगी हुन् । उनी १० वर्षदेखि शिक्षकका रूपमा सेवा दिइरहेका छन् । विद्यालयमा शिक्षक अभाव भएपछि पढाउनुपरेको उनको भनाइ छ ।

उनी बिहान सबैभन्दा पहिले विद्यालय पुग्छन् । कक्षाकोठा, कार्यालय र विद्यालय परिसरको सरसफाइ गर्छन् । त्यसपछि उनको शिक्षक ड्युटी सुरु हुन्छ । दस वर्षयता कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई पढाइरहेको उनले बताए । ‘सुरु–सुरुमा असजिलो लाग्थ्यो, आजकल त बानी परिसक्यो,’ उनले भने, ‘पढाउन पाउँदा खुसी लाग्छ ।’

शिक्षकले मासिक २२ हजारदेखि २५ हजार रुपैयाँ तलब बुझ्छन् । दोहोरो जिम्मेवारी निर्वाह गरिरहेका बुढाथोकीले भने मासिक ४ हजार ५ सय पाउँछन् । ९ कक्षासम्म पढेका उनी विद्यालयले जिम्मेवारी हेरेर तलब थपिदिए हुन्थ्यो भन्ने आशामा छन् । २०४८ सालमा स्थापित विद्यालयमा तीन शिक्षकको दरबन्दी छ । त्यसमाथि कहिलेकाहीँ कुनै शिक्षक बिदामा बस्दा र प्रधानाध्यापक कार्यालयको कामले बाहिर जाँदा कक्षा खाली हुन्छ । यही अभाव टार्न बुढाथोकीले पढाउनुपर्छ ।

प्रधानाध्यापक खिमबहादुर भण्डारीले दरबन्दीअनुसार शिक्षक नहुँदा बालबालिकालाई पढाउन समस्या भएकाले कार्यालय सहयोगीले पढाउने गरेको बताए । ‘हामीले दरबन्दीअनुसारका शिक्षक माग गर्दा सम्बन्धित निकायले चासो देखाएन,’ उनले भने, ‘कार्यालय सहयोगीको भरमा जेनतेन विद्यालय चलाइरहेका छौं ।’ विद्यालयमा शिक्षकको मात्र होइन, भौतिक पूर्वाधारको पनि उत्तिकै समस्या छ । भवन अत्यन्तै जीर्ण छ । यसकै कारण विद्यार्थी संख्या घटदै गएको खवर कान्तिपुरमा छ ।

प्रतिक्रिया दिनुहोस्