हतियारसहित तीन युवा पक्राउ



धादिङ :  उत्तरी धादिङको गंगाजमुना गाउँपालिका–५ मण्डली मावि परिसरबाट तीन जनालाई प्रहरीले सोमबार हतियारसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा खनीयाबास गाउँपालिका–५ सत्यदेवीका २५ वर्षीय नारायण थापामगर, ३० वर्षीय आशिस थापामगर र २३ वर्षीय विशाल गुरुङ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्याम महतोका अनुसार उनीहरुको साथमा चाइनिज पेस्तोल र सात राउड गोली बरामद भएको छ । विद्यालयमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन भएको स्थानमा प्रहरीले शंका लागि खानतलासी गर्दा उनीहरु हतियारसहित पक्राउ परेका थिए । उनीहरुलाई हातहतियार तथा खरखजाना मुद्दा चलाइने जनाइएको छ ।

यसैबीच, धादिङ जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक डम्बरबहादुर विकले धादिङमा बहाल रहेको अवधिमा आफूले प्राप्त गरेको भत्तावापतको ४१ हजार ३९९  रुपैयाँ जिल्ला लैंगिक हिंसा निवारण कोषलाई हस्तान्तरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्