उदयपुरको मस्जिदमा बसेका अर्का एक भारतीयमा कोरोना पुष्टि



काठमाडौं : उदयपुरको मस्जिदमा बसेका अर्का एक भारतीयमा कोरोना पुष्टि भएको छ ।

शनिबार उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा बसेका थप ६५ वर्षका एक पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विराटनगरको कोशी अञ्चल अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा ती भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको हो ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बासुदेव पाण्डेका अनुसार कोरोना संक्रमित ती भारतीय नागरिक र अरु तीन नेपाली शुक्रबार राति मोरङको टाँडीस्थित क्वारेन्टाइनस्थलमा लगिएका थिए ।

यसअघि शुक्रबार उदयपुरको भुल्केस्थित मस्जिदमा रहेका ११ जना भारतीय र एक नेपाली नागरिकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । जसमध्ये दुई जना निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्