राष्ट्रपतिले देवघाटधाममा गरिन् महायज्ञको उद्घाटन



 देवघाट :  राष्ट्रपति विद्यादेवी भण्डारीले चितवनस्थित तीर्थस्थल देवघाटधामलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याएकी छिन्।

मंगलबार सुरु भएको विराट ज्ञान महायज्ञको मंगलबार उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले धार्मिक तथा ऐतिहासिक महत्व बोकेको देवघाटधामलाई धार्मिक पर्यटकीय केन्द्रका रुपमा विकास गर्नुपर्ने बताइन् । संस्कृत शिक्षाप्रति विद्यार्थीहरुको आर्कषण घटेकोमा चिन्ता व्यक्त गर्दै उनले संस्कृत शिक्षा बढाउनुपर्ने बेला भएको बताइन् ।

देवघाट गुरुकुल शिक्षा चलाएर नेपालको मौलिक संस्कृतिको संरक्षणमा लागेको भन्दै राष्ट्रपति भण्डारीले गुरुकुलहरूको प्रशंसा गरिन् । गुरुकुललाई समयानुकुल बनाउँदै अघि बढाउनुपर्ने उनले बताइन् ।

त्यस क्रममा राष्ट्रपति भण्डारीले आश्रमको नवनिर्मित भवनको  उद्घाटन पनि गरिन् । नवनिर्मित भवनमा कक्षा ६ देखि आचार्यसम्मको पठनपाठन हुने छ । महेश सन्यास आश्रम तथा महेश गुरुकुलको रजत वर्ष एवं १००८ डा. स्वामी रामानन्द गिरिजी महाराजको पुण्यतिथिको अवसरमा महायज्ञ गर्न लागिएको हो ।

त्यस गुरुकुलमा कक्षा ६ देखि आचार्यसम्म अहिले करिब तीनसय जना विद्यार्थी अध्ययनरत छन् । मंगलबार सुरु भएको महायज्ञ यही फागुन १ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्