राप्रपा संयुक्त एकीकृत होइन नयाँ पार्टी : असन्तुष्ट समुह



काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र राष्ट्रवादीको एकताबाट असन्तुष्ट समुहले भेला गर्दै दुई पार्टीको एकीकरण संबिधान, प्रचलित कानुन तथा पार्टीको विधान प्रतिकुल रहेको ठहर गरेको छ ।

 

राप्रपा प्रजातान्त्रिकका उपाध्यक्षद्वय दीपक बोहोरा र केशरबहादुर बिष्टको अगुवाईमा भएको सो भेलाले राप्रपा संयुक्त कुनै पार्टी एकीकरण भएको नभएर नयाँ पार्टी गठन भएको निष्कर्ष निकालेको छ । सो भेलाले राप्रपा, राप्रपा प्रजातान्त्रिक र राप्रपा राष्ट्रवादीसहित अन्य समान विचार राख्ने सबै शक्तिहरुलाई वैधानिक तवरले एकीकरण गरिनुपर्ने भन्दै अध्यक्षहरुलाई आग्रह गरेको छ ।

 

भेलामा राप्रपा प्रजातान्त्रिक र राष्ट्रवादीका वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महामन्त्रीहरु लगायतका पदाधिकारी र केन्द्रीय सदस्यहरु समेत गरि ८५ जनाको उपस्थिति रहेको राप्रपा प्रजातान्त्रिकका प्रवक्ता प्रदिप कुमार उदयले जानकारी दिएका छन् । 

 

पशुपति शमशेर राणाले नेतृत्व गरेको राप्रपा प्रजातान्त्रिक र डा.प्रकाशचन्द्र लोहोनीले नेतृत्व गरेको राप्रपा राष्ट्रवादीले गत शुक्रबार एकीकरणको घोषणा गर्दै राप्रपा संयुक्तको घोषणा गरेका थिए । सो एकीकरणबाट राप्रपा प्रजातान्त्रिकका दिपक बोहोरा, केशरबहादुर विष्टसहितका नेताहरु असहमत भएको बताएका छन् । उनीहरुले सबै राप्रपाको एकीकरण गरेर बलियो राष्ट्रवादी शक्ति निर्माण गरिनुपर्ने बताउदै आएका छन् । 

    

प्रतिक्रिया दिनुहोस्