सिन्धुलीका सबै स्थानीय तहमा नेकपा कमिटी एकीकरण



सिन्धुली : काठमाडौं । केन्द्रबाट एकीकरणको मापदण्ड र मोडालिटी आउन ढिला भएपनि सिन्धुलीका ९ वटै स्थानीय तहमा नेकपाका कमिटी एकीकरण भएका छन् ।

 

३ नम्बर प्रदेश कमिटीको अनुमति लिएर नेकपाको सिन्धुली जिल्ला कमिटीको समन्वयमा जिल्लाका दुई नगरपालिका र ७ गाउँपालिकामा तत्कालीन एमाले र माओवादीका कमिटी एकीकरण भएका हुन् । यद्यपि, नेकपाको जिल्ला कमिटीको एकीकरण भने भएको छैन ।

 

तत्कालीन एमालेका जिल्ला इन्चार्ज कमलजंग राई र अध्यक्ष प्रदीप कटुवाल तथा तत्कालीन माओवादीका जिल्ला इन्चार्ज विषमलाल अधिकारी दनुवार र संयोजक राजन दाहालले संयुक्त रुपमा परिपत्रमार्फत स्थानीय तहको एकीकरण टुंगो लगाएका हुन् ।

 

जिल्लाका ९ स्थानीय तहमध्ये दुवै नगरपालिकासहित ५ स्थानीय तहमा तत्कालीन एमालेले अध्यक्ष पाएको छ । तत्कालीन माओवादीले चार गाउँपालिकामा अध्यक्ष पाएको छ । पूर्वएमालेले अध्यक्ष पाएको ठाउँमा पूर्वमाओवादीले सचिव पाएको छ भने पूर्वमाओवादीले अध्यक्ष पाएको ठाउँमा पूर्वएमालेले सचिव पाएको छ ।

 

पूर्वएमालेले अध्यक्ष पाएकामध्ये दुधौली नगरपालिकामा लक्ष्मण कार्की, कमलामाई नगरपालिकामा चुडामणी श्रेष्ठ, तीनपाटन गाउँपालिकामा छत्रबहादुर दाहाल, फिक्कलमा रामप्रसाद भण्डारी र हरिहरपुरगढीमा मानबहादुर वाइबा छन् ।

 

त्यस्तै पूर्वमाओवादीले अध्यक्ष पाएका गाउँपालिकामध्ये गोलन्जरमा केपी पोखरेल, सुनकोशीमा रामेनारज गिरी, घ्याङलेखमा शंकरराज घलान र मरिणमा गोपाल बुढाथोकी छन् ।

 

त्यस्तै पूर्वएमालेले सचिव पाएका गाउँपालिकामध्ये गोलन्जरमा रेगन थापा, सुनकोशीमा लालबहाबदुर थापा, मरिणमा हरिकुमार स्याङतान र घ्याङलेखमा दिनेश लो छन् ।

 

पूर्वमाओवादीले सचिव पाएकामध्ये दुधौलीमा दीपक खड्का, कमलामार्इमा केशरबहादुर कार्की, तीनपाटनमा आनन्द कार्की, फिक्कलमा मुरारी भण्डारी र हरिहरपुरगढीमा बाबुराम राई छन् ।

 

नेकपाको जिल्ला कमिटीले गाउँ र नगर कमिटीमा समावेश गर्ने व्यक्तिको नाम शनिबारसम्म सिफारिस गर्न सम्बद्ध पदाधिकारीलाई निर्देशन दिएको छ । नेकपाको जिल्ला कार्यालय तत्कालीन एमालेको जिल्ला कार्यालय आजाद स्मृति भवनमा सञ्चालन हुनेसमेत जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्