चार महिनामा एक सय ७७ जुवाडे पक्राउ



काठमाडौँ : जुवा तथा तास खेलेको अभियोगमा महानगरीय प्रहरी वृत्त बौद्धले चार महिनामा १ सय ७७ जुवाडेसहित २५ लाख बरामद गरेको छ । २०७५ असोज २४ गतेदेखि माघ २२ गतेभित्रमा बौद्ध परिसरका विभिन्न स्थानबाट १७ टोली जुवाडेसहित २४ लाख ५४ हजार ६ सय २५ बरामद गरिएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए । 

 

भदौ १ गतेदेखि कार्यान्वयनमा आएको नयाँ मुलुकी अपराध संहितामा जुवा खेल्ने र चिठ्ठा सञ्चालन गर्ने पनि जेल जानुपर्ने सजाय थप गरेको भए पनि जुवा खेल्ने खेलाउनेमा भने कमी आएको पाइँदैन । 

 

गत असोज २६ गते काठमाडौंँ जिल्ला कागेश्वरी मनोहरा नगरपालिका–६ थलीबाट ६६ हजार ९ सय नगदसहित मधु पौडेललगायत १५ जनाविरुद्ध बौद्ध प्रहरीले मुद्दा चलाएको थियो । सोही महिनामा गोर्कर्णेश्वर नगरपालिकाको बेँसीगाँउबाट ४९ हजार ९ सय५० नगद र दिलबहादुर राईसमेत सातजनालाई पक्राउ गरी उनीहरूविरुद्ध मुद्दा चलाइएको थियो । 

 

असोज महिनामा मात्रै चार जुवाखालबाट रदुई लाख ८२ हजार ३९५ नगदसहित ३५ जनालाई पक्राउ गरी महानगरीय प्रहरी वृत्त बौद्धले मुद्दा चलाएको हो । त्यस्तै कात्तिक महीनामा काठमाडौँको बौद्ध परिसरभित्रका विभिन्न होटेल तथा जुवाखालबाट सादा पोसाकमा खटिएका तथा प्रहरी अधिकृतसहितको टोलीले ६ लाख १६ हजार ८ सय २५ रुपैयाँ बरामद गर्नुको साथै ५९ जना जुवाडेलाई पक्राउ गरी मुद्दा चलाएको थियो । 

 

कपन र टाउन प्लानिङको क्षेत्रमा जुवा खेलाइरहेको भन्ने गोप्य सूचनाको आधारमा मङ्सिरमा दुई जुवा खालबाट ६ लाख तीन हजार ९ सय ८० सहित २१ जनालाई पक्राउ गरी मुद्दा चलाएको प्रहरीले जानकारी दिएको छ । 

 

त्यस्तै पुस महिनामा दुई जुवाखालबाट प्रहरीले २८ जुवाडेसहित बौद्ध फूलबारी र थलीबाट सात लाख ५० हजार ७ सय ५५ रुपैयाँ बरामद गरेको थियो । पक्राउ परेकाविरुद्ध मुद्दा दर्ता गरिएको प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिए ।

 

चालु माघ महिनाको २२ गतेसम्ममा ३४ जुवाडे पक्राउ परेका छन् भने उनीहरुबाट दुई लाख ६ सय ७० बरामद भएको थियो । पक्राउ पर्ने बित्तिकै थप अनुसन्धानपश्चात् म्याद थप गरी मुद्दा दर्ता गर्ने गरेको प्रहरीले जानकारी दिएको छ । 

 

चन्दले भने, 'जुवा खेल्न कसैले घर, कोठा, कुनै सम्पत्ति र गाडीमा ठाउँ दिएमा त्यस्तालाई कारवाही गरिनेछ ।' कानुनीरूपमा सो कार्यमा संलग्न रहेकालाई समेत कारवाही गरिने व्यवस्था रहेको उनले जानकारी दिए ।' बौद्ध क्षेत्रबाट महानगरीय प्रहरी वृत्त बौद्धले १६ वटा मुद्दा चलाएको हो भने प्रहरी परिसर टेकुले एउटा मुद्दा चलाएको छ । 

 

होटेल तथा रेस्टुराँलाई प्रहरीले निगरानीमा राखी छापा मार्न थालेपछि अहिले घरघरमा जम्मा भएर जुवा खेल्ने गरेको पाइएको महानगरीय प्रहरी प्रभाग कपनका प्रहरी निरीक्षक मीनबहादुर कुँवरले बताए । 

 

गोप्य सूचनाको आधारमा घरघरमा गएर पनि प्रहरीले जुवाडेको अखडामा छापा मार्ने गरेको छ । पछिल्लो समय घरबाटै अधिकाशं जुवाडे पक्राउ पर्ने गरेको तथ्याङ्क रहेको कुँवरले जानकारी दिए ।

 

 महानगरीय प्रहरी प्रभाग साँखु र प्रहरीचौकी नाङ्लेभारेले शनिबार काठमाडौँ चापकोबोटबाट १२ जुवाडे पक्राउ गरेको थियो । उनीहरुमा अधिकांश ५० वर्ष नाघेका रहेका छन् । बजार केन्द्रीत जुवा अहिले विस्तारै बजारबाट काठमाडौँको विभिन्न गाउँ क्षेत्रतिर सर्दै गएको प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक लक्ष्मी खनालले जानकारी दिए । 

 

प्रहरीको पहुँचबाट बच्न सकिन्छ भन्दै जुवाडेहरूले अहिले काठमाडौंँ जिल्लाको ग्रामीण क्षेत्रलाई अखडा बनाउँदै गएको भए पनि प्रहरीले जुवा नियन्त्रणका लागि सुक्ष्म अनुसन्धानसहित कारवाही थालेको खनालले जानकारी दिए । 

 

मुलुकी अपराधसंहिता अनुसार पहिलो पटक जुवा खेल्ने र खेलाउनेलाई तीन महीनासम्म कैद वा रु ३० हजारसम्म जरिवाना तोकेको छ । दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजारसम्म जरिवाना लाग्नेछ । त्यसपछि पनि जुवा खेल्ने र खेलाउने गरेमा तीन वर्षसम्म कैद र रु १० हजार जरिवाना लाग्ने २०७५ भदौ १ गतेबाट लागू भएको मुलुकी अपराध संहितामा उल्लेख छ । 

 

संहितामा जुवा खेल्ने मात्र नभई अरुले खेलेको ठाउँमा च्याँखे थाप्नेलाई पनि जुवा खेले बराबरकै कारवाही हुने कानूनी प्रावधान रहेको छ । भदौ १ गते भन्दा पहिले जुवा खेल्नेलाई जुवा ऐन, २०२० अन्तर्गत कारवाही हुँदै आएको थियो । अहिले मुलुकी अपराध संहिता, २०७४ लागू भएपछि सोही कानूनी प्रावधानअनुसार कारवाही हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्