असन्तुष्ट नेता महत्वपूर्ण जिम्मेवारीसहित जनता समाजवादीमै



काठमाडौं : जनता समाजवादी पार्टी नेपालको घोषणासँगै असन्तुष्ट नेताहरु अन्य दल नखोल्ने भएका छन् ।

उनीहरु समेत एकीकृत पार्टीमै महत्वपूर्ण जिम्मेवारीका साथ काम पाउँने जनता समाजवादी पार्टी स्रोतको दाबी छ ।

राजपाबाट राजकिशोर यादव, अनिल झाका साथै समाजवादीबाट रेणु यादव, इस्तियाक राइन, प्रदिप यादव लगायतका नेताहरु आफ्ना तत्कालिन पार्टी नेतृत्वबाट असन्तुष्ट छन् । उनीहरुले छुट्टै दल गठन गर्ने तयारी पनि हाललाई स्थगित गरेको स्रोतको दाबी छ ।

रेणुले छुट्टै दल गठन गरेर केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागि हुने तयारी गरेकी थिइन् । समाजवादी पार्टीका १७ मध्ये आठ सांसद लिएर छुट्टै दल गठन गर्ने र एक मन्त्री, एक राज्य मन्त्रीसहित सरकारमा सहभागि हुने योजना थियो ।

तर, रेणुको योजना डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले राजपासँग पार्टी एकीकरण गरेर असफल बनाएपछि सबै असन्तुष्ट नेताहरु एकीकृत जनता समाजवादीमै फर्किने तयारी भएको हो ।

उता समाजवादीसँग एकीकरण गर्न नहुने भन्दै पहिलेदेखि नै आपति जनाउँदै आएका राजपाका राजकिशोर र अनिल समेत जनता समाजवादीमै महत्वपूर्ण जिम्मेवारी पाउँने भएका छन् ।

राजपा अध्यक्ष मण्डलको सदस्य समेत रहेका राजकिशोर र अनिलले एकीकरण घोषणामा सहभागि नहुनुका साथै सहमतीपत्रमा हस्ताक्षर समेत गरेका छैनन् । यी दुबै नेतालाई महत्वपूर्ण जिम्मेवारी दिँदै एकीकृत पार्टीमै राख्ने र उनीहरु समेत सहमत भइसकेको स्रोतको दावी छ ।

प्रतिक्रिया दिनुहोस्