कुहिएको दाल वितरण गर्ने मेयरसहित सवै जना धरौटीमा छुटे



बारा : लकडाउनको समयमा विपन्नलाई कुहिएको दाल राहत वितरण गरेको आरोपमा पक्राउ परेका कलैया उपमहानगरका मेयर राजेश राय धरौटीमा छुटेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराले कालोबजारी गरेको भन्दै मेयर यादवसहित उनका भाइ रवीन्द्र यादव, कोल्डस्टोरका कर्मचारी बच्चु यादव, २७ नं.वडाध्यक्ष रेयाजुल हकलाई पक्राउ गरेको थियो ।
मेयर यादव र उद्योगी तेजकरण जैन जनही २ लाख ८१ हजार र वडाध्यक्षहरुले जनही ६० हजार धरौटी बुझाएर रिहा भएका छन् ।

जिल्ला प्रशासन कार्यालय, बारामा भएको थुनछेक बहसले सवै जनालाई धरौटीमा छोड्न आदेश दिएको जिल्ला प्रशासन कार्यलयका शेरबहादुर थापाले जानकारी दिएको छ ।

वडाध्यक्षहरु हरिओम साह, सफिल्लाह अन्सारी, राजन प्रसाद कुर्मी, महेश साह, सर्वुनारायण चौधरी लगायत कुहिएको दाल खरिद गरिएको यादव आईस एण्ड कोल्ड स्टोरका कर्मचारी कृष्णप्रसाद यादव र बच्चु यादवलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

वडा नं.२० का सचिव खेदु मियाँको संलग्नता नदेखिएपछि उनी विरुद्ध भने माग दावी पेश नै नगरिएको डिएसपी मिश्रले जानकारी दिए । कलैया उपमहानगरपालिकाका विभिन्न वडाले २०७३ सालदेखि यादव आइस एण्ड कोल्ड स्टोरमा थन्क्याएर राखिएको कुहिएको दाल राहतमा वितरण गरेका थिए ।

वडा नं.२० बसतपुरमा पनि कुहिएको दाल वितरण गर्न थालेपछि प्रहरीले २५ बोरा दाल नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो । नियन्त्रणमा लिएको दाल बसतपुर चौकीमा राखिएको छ भने दाल खरिद गरिएको मेयर यादवको कोल्ड स्टोरमा भएको दाललाईसमेत प्रशासनले शिल गरी नमूना परिक्षणका लागि हेटौडा पठाएको थियो ।

हेटौडास्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले उक्त रहरको दाल खान योग्य नरहेको भन्दै बारा प्रहरीलाई पत्र पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस्