कैलालीको आपूर्ती व्यवस्था सहज, २ महिनासम्म पुग्ने दैनिक उपभोग्य वस्तुको मौज्दात



धनगढी : कैलालीमा लकडाउनको समयमा समेत आपूर्ती व्यवस्थामा कुनै समस्या देखिएको छैन ।

सरकारले कोरोना भाईरस (कोभिड-१९) को थप संक्रमण फैलिन नदिन लकडाउन जारी गरेको ३२ दिन सम्म आपूर्ती व्यवस्थामा कुनै अवरोध सिर्जना नभएको हो ।

लकडाउनका बेला जिल्लाको आपूर्ती व्यवस्थामा अवरोध सिर्जना नहुनुलाई सुखद रुपमा लिईएको छ । वाणिज्य, आपुर्ती तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीका प्रमुख कमल बहादुर पुनले लकडाउनका बेला दैनिक उपभोग्यका वस्तुको आपूर्तीमा कुनै समस्या नआएको बताए ।

उनले कैलालीमा अझै २ महिनासम्म पुग्ने दैनिक उपभोग्य वस्तुको मौज्दात रहेको जनाए । उनले भने,‘हामीसँग थप दुई महिनाका लागि दैनिक उपभोग्य समाग्रीको मौज्दात छ, व्यवसायीहरुलाई पनि व्यक्तिगत सुरुक्षाका समाग्रीहरु प्रयोग गरेर काम गर्न आग्रह गरेका छौं ।’

केही व्यपारीहरुले मौज्दात समाग्रीको कृत्रिम अभाव सिर्जना गरी उपभोक्तालाई दुः ख दिने गरेको एवं प्रचलित मूल्य भन्दा बढि असुलेको आरोप भने लागेको छ । तर त्यस्ता धेरै व्यवसायीलाई कारवाहीको दायरामा लिएको वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार बिहिबारसम्म ४० हजार क्वीन्टल चामल, ५ हजार क्वीन्टल पिठो, १ लाख ५० हजार क्वीन्टल धान र १६ हजार क्वीन्टल गहुँ मौज्दात छ । बीहिबार सम्मकै तथ्याङ्क अनुसार २ लाख ७ हजार ७ सय ५० लिटर खाने तेल, १८ हजार क्वीन्टल तोरीको दान, १ लाख ५० हजार क्वीन्टल चिनी र ६ सय ५० क्वीन्टल दाल मौज्दात रहको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

यस्तै खाद्य संस्थानमासमेत ७ सय ६१ क्वीन्टल चामल र २१ सय क्वीन्टल धानको मौज्दात रहेको सहायक प्रमुख जिल्ला अधिकारी तथा जिल्ला आपुर्ती व्यवस्थापन समितिका अध्यक्ष मोहनराज जोशीले बताए । ‘जिल्ला भित्र भएको खाद्य समाग्री लगायत गैर खाद्य समाग्रीहरु, दैनिक उपभोग्य र प्रयोगको लागि चाहिन्छ त्यसको सम्पुर्ण विवरण तयार गरेका थियौं’, उनले भने, ‘सोही विवरणका आधारमा हामीले गरेको आकलन अनुसार अहिलेसम्म कुनै पनि समाग्री अभाव हुने अवस्था रहेन भने आगामी दिनमा पनि दैनिक उपभोग्य समाग्रीको अभाव हुने अवस्था छैन ।’

प्रशासनकै अनुसार साल ट्रेडिङ कर्पोरेसनमा १ लाख २१ हजार १ सय ८२ क्वीन्टल नुन र ५० किलोको ४ सय वोरा चिनी मौज्दात रहेको छ । कैलालीमा पेट्रोलियम पदार्थको पनि मौज्दात पर्याप्त रहेको प्रशासनले जनाएको छ ।

जिल्लामा १ लाख ३० हजार लिटर डिजल र पेट्रोल ७० हजार लिटर रहेको छ । खाना पकाउने एलपी ग्यासको माग न्यून मात्रामा हुन थालेपछि मौज्दात बढी भएको प्रशासनले जनाएको छ । दैनिक उपभोग्य वस्तुको मौज्दात २ महिनाको लागि भएपनि उपभोक्ताले समाग्री खरिद गर्ने पसलहरुमा भने अभाव सिर्जना भएको छ ।

त्यसकारण पनि नियमित बजार अनुगमन गरी बदमासी गर्नेहरुलाई कानुनी कारवाही गर्ने वाणिज्य, आपुर्ती तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीका प्रमुख कमल बहादुर पुनले बताए । उनले भने,‘कुनै व्यवसायीले मूल्य बढी लिने उद्देश्यले अभाव देखाएपछि निगरानीमा राखेर कारवाहीको दायरामा ल्याउँछौं, ‘होलसेल व्यवसायीहरुलाई पनि भएको मौज्दात प्रत्येक खुद्रा पसलहरुलाई उपलब्ध गराउन अनुरोध गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्