महाकाली तरेर नेपाल प्रवेश गर्ने क्रम रोकिएन



काठमाडौं: लकडाउनका कारण भारतका विभिन्न ठाउँमा अलपत्र परेका नेपालीहरु नेपाल भित्रिने क्रम रोकिएको छैन ।

शुक्रबार बिहान मात्रै २ जना नेपाली मजदुर भारतबाट महाकाली नदीको जङार तरेर नेपाल प्रवेश गरेका छन् । लकडाउनका लागि कारण नेपाल भारत जोड्ने नाकाहरु सिल भएपछि भारतमा रहेका नेपालीहरु कहिले पौडी खेलेर, ट्युब तरेर वा कहिले जङार तरेर नेपाल भित्रिने गरेका छन् ।

शुक्रबार बिहान सवा ९ बजेतिर महाकाली नगरपालिका-९ उडै क्षेत्रबाट महाकाली नदीबाट जङार तरेर २ जनाले नेपाल प्रवेश गरेको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल नं.५० गुल्म हेडक्वाटर दार्चुलाका गुल्मपति डम्बर बहादुर विष्टका अनुसार मार्मा गाउँपालिका–६ निम्ठाका २५ वर्षीय प्रजापति देउरुखी र सोही ठाउँका २२ वर्षीया रेखा बोहरा देउरुखी जङार तरेर नेपाल प्रवेश गरेका हुन् ।

उनीहरुलाई नियन्त्रणमा लिई नगरपालिकाको क्वारेन्टाइनमा राखिएको महाकाली नगरपालिका विपद व्यवस्थापन शाखाका संयोजक भुवन जोशीले बताए । अवैध रुपमा भारतबाट नेपाल प्रवेश गर्ने क्रम बढेपछि सशस्त्र प्रहरीले जिल्लाका ९ ठाउँमा अस्थायी पोष्ट राखेर सीमामा निगरानी बढाएको भए पनि भारतमा अलपत्र परेको नेपालीहरु विभिन्न माद्यम प्रयोग गरी नेपाल प्रवेश गर्ने क्रम रोकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्