भोजपुरका कोरोना संक्रमित युवकको ‘कन्ट्रायक ट्रेसिङ्ग’ बारे नगरपालिका बेखबर



काठमाडौं : भोजपुरका एक युवकमा विदेशबाट आएको ४१ दिन पछि कोरोना संक्रमण भएको पुष्टि भएको छ । भोजपुर हतुवागढी गाउँपालिका–६ का २६ वर्षीय युवक कोरोना संक्रमित भएपछि घटनाले नयाँ रुप लिएको छ ।

उनी पहिले नै संक्रमित थिए वा घरमा आएपछि संक्रमण भयो भन्ने नयाँ ट्वयिस्ट ल्याएको छ ।

कोरोनाको हट स्पोटको रुपमा रहेको त्रियुगाको भुल्केमा समुदाय स्तरमा फैलिएको कोरोना संक्रमणको स्रोत भारतको उत्तरबाट आएका युवक रहेको निष्कर्ष नजिक पुगेको प्रदेश सरकारलाई कोरोना रोकथाम र नियन्त्रणका लागि थप चुनौती बढेको छ ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरीक्षक नरबहादुर सलामी मगरले कोरोना संक्रमण देखिएका युवकको कन्ट्रायक ट्रेसिङ्गको काम भइरहेको बताए । डीएसपी मगरका अनुसार उनी गत फागुन ३० गते अर्थात ४१ दिन अघि हिमालयन एयरआइन्सको उडानबाट साउदी हुँदै काठमाडौं उत्रिएका थिए ।

सोही दिन उनी नाइट बस चढेर सुनसरीको झुम्का हुँदै चतरा पुगे । उनी आठ दिनसम्म धरान, इटहरी, चतरा र झुम्कालगायत सुनसरीका विभिन्न ठाउँमा घुमेको खुलेको छ ।

प्रहरीका अनुसार चैत ११ गते श्रीमती र छोरीलाई ससुराली छोडेर संक्रमित युवक मुल घर भोजपुर गएका थिए । गाउँमा पुगेर उनले भलिबल खेल्न र बजार डुल्न गएको पनि खुलेको छ ।

योसँगै संक्रमितका ससुरालीका व्यक्तिहरु पनि जोखिममा छन् ।

हतुवागढी–६ का वडाध्यक्ष सागर राईका अनुसार कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै वडामा त्रास फैदिएको छ । लङ्खा टोल र वडा नम्बर ६ लाई सिल गरिएको र सबैलाई सामाजिक दूरी कायम गरेर बस्न आग्रह गरिएको उनले बताए ।

हिजो (बिहीबार) उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो । संक्रमित युवक मैनामैनीमा को–कोसँगको सम्पर्कमा गएको र उनका ससुरालीका व्यक्तिहरु कहाँ–कहाँ क–कसको सम्पर्कमा गएको बारे नगरपालिका बेखबर छ । कोरोना भाइरसको संक्रमित प्रदेश १ मा हालसम्ममा २९ र मुलुकभरी ४८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्