नेपालगञ्जमा पिण्डेश्वर शिवलक्ष्मी साधना शिविर हुँदै



नेपालगञ्ज : “पिण्डेश्वर शिव-लक्ष्मी धाम” नेपालगञ्ज, बाँकेले फागुन १६ गतेदेखि २० गतेसम्म “पिण्डेश्वर शिवलक्ष्मी चौथौ साधना शिवीर”को आयोजना गर्ने भएको छ । 

 

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० भृकुटीनगरमा हुने पाँच दिने साधना शिविरको व्यवस्थापनका कार्यहरु तीव्र गतिमा भइरहेको शिविरका भोजन व्यवस्थापन उपसमितिका संयोजक चन्द्रा शाहीले बताइन् । 

 

देश विदेशबाट आउने साधकहरूलाई स्तरीय बसोबास तथा खानाको व्यवस्था गर्न तयारी भइरहेको शाहीको भनाई छ ।  साधनामा नेपाल, भारत र गैरआवाशिय नेपालीहरु गरी करिब २ हजारको  सहभागिता रहने शिविर आयोजक समितिले जनाएको छ । 

 

आयोजककाअनुसार महाशिवरात्री विशेष कार्यक्रमसहित बाँके जिल्लामै पहिलो पटक सवा करोड दिप प्रज्वलन गरिने कार्यक्रम छ । परम उद्धारकर्ता संकटमोचनस्वरुप मदन बाबाको सानिध्यतामा आयोजना हुने यस शिविरमा साधकहरूले, ध्यान, जप, आराधना, भक्ति र सत्संगमा सक्रिय सहभागिता जनाई लाभ लिने अपेक्षा गरिएको छ ।

 

शिविरमा महारुद्री अनुष्ठानसहित यज्ञको समेत आयोजनाका लागि तयारी भइरहेको आयोजकले बताएको छ । यसअघि दाङको तुलसीपुर, बर्दियाको कोठियाघाट र कैलालीको टीकापुरमा “पिण्डेश्वर शिवलक्ष्मी साधना शिवीर”सम्पन्न भइसकेका छन् ।

 

परम उद्द्धारकर्ता संकटमोचनस्वरुप मदन बाबाको सानिध्यतामा देश विदेशमा करिब पाँच लाख बढी साधकहरु रहेको अनुमान गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्