विराटनगरका मेयरले काठमाडौं पठाएका यात्रुलाई नागढुंगा चेकपोस्टमा रोकियो



काठमाडौं : विराटनगरबाट यात्रु लिएर काठमाडौं आएको ७ वटा गाडी काठमाडौं प्रवेश गर्ने नाका नागढुंगा चेकपोस्टमा प्रहरीले रोकेका छन् ।

विराटनगर महानगरपालिकाले गाडी रिजर्भ गरेर काठमाडौं पठाएको यात्रुलाई आज (सोमबार) बिहान ८ः३० बजे चेकपोस्ट रोकेको प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिए ।

महानगरपालिकाले ७ वटा बसमा १ सय ६० जनालाई काठमाडौं पठाएको थियो । हरेक बसमा १९ जना यात्रु छन् ।

लकडाउनका कारण विराटनगरमा अलपत्र परेका कारण मेयर भीम पराजुलीले गाडीको व्यवस्था गरेर काठमाडौं पठाएको यात्रुहरुले बताएका छन् ।

उनीहरुलाई गाडीबाट झारेर चेकपोस्टमा लाइन लगाएर राखिएको छ ।

प्रहरीले चेकपोस्टबाट अलि तल यात्रु झरेर बसहरु काठमाडौं प्रवेश गराए पनि यात्रुलाई भने रोकेर राखेको हो ।

८ बजे अगाडि विराटनगरलगायतका अन्य ठाउँबाट आएका यात्रुहरु काठमाडौं प्रवेश गरिसकेका छन् ।

यात्रुहरु काठमाडौं प्रवेश गरिरहेको समाचार सम्प्रेषण शुरु भएपछि प्रहरीले चेकजाचमा कडाइ गरेको हो ।

काठमाडौं प्रवेशका लागि माथिको आदेश चाहिने भन्दै प्रहरीले यात्रुलाई अहिले चेकपोस्टमै राखेको छ ।

प्रतिक्रिया दिनुहोस्