सुदूरपश्चिम प्रदेश सरकारको कोरोना रोकथाम कार्ययोजना पारित



धनगढी: सुदूरपश्चिम प्रदेश सरकारको कोरोना भाइरस संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना भाइरस रोग नियन्त्रण तथा व्यवस्थापन सम्बन्धी कार्ययोजना २०७७ पारित गरेको छ ।

प्रदेशका मुख्यमन्त्री एवं केन्द्रका संयोजक त्रिलोचन भट्टको अध्यक्षतामा शनिबार सम्पन्न बैठकले पारित गरेको कार्ययोजना सम्बन्धित निकायमा पठाई त्यसको प्रगति प्रतिवेदनसमेत मगाउने निर्णय गरिएको छ ।

बैठकले बाहिरबाट प्रदेशमा प्रवेश गर्ने नागरिकलाई जिल्ला प्रशासन कार्यालयले सम्बन्धित स्थानीय तहसंग समन्वय गरी स्वास्थ्य सेवा निर्देशनालयले बनाएको मार्गदर्शन बमोजिम क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउने, गड्डा चौकी र त्रिनगर भन्सार सीमा नाका हुदै भित्रिने मालबाहक र प्रदेशभित्र चल्ने बस र सवारी साधनमा नियमित रुपमा स्यानिटाइजको व्यवस्था मिलाउने, कोरोनाको परीक्षण प्रयोगशालामा देखिएको जनशक्तिको अभाव पूर्तिका लागि नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ ।

केन्द्रको बैठकले आगामी दिनमा सिर्जना हुन सक्ने खाद्यान्नको अभावलाई मध्यनजर गरी प्रदेशमा उत्पादन भएको खाद्यान्न निर्यात हुन नदिनका लागि पहल गर्ने निर्णय पनि गरेको छ । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस संक्रमणको दर पछिल्ला दिनमा स्थिर अवस्थामा छ ।

कोरोना संक्रमित भएको पुष्टि भई सेती प्रादेशिक अस्पतालमा उपचाररत ५ जना मध्ये ४ जना निको भई डिस्चार्ज भएका छन् । उपचाररत एक जनाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्