राजधानीमै घर भएका सांसदले घरभाडा नलिने



रुपन्देही : प्रदेश ५ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने रुपन्देही घर भएका नेकपाका सांसदहरुले  घरभाडा नलिने घोषणा गरेका छन् । प्रदेशको राजधानी भएको जिल्लामा घर हुने सांसदलाई नेकपा संसदीय दलको बैठकले घरभाडा नलिन आग्रह गरेपछि उनीहरुले भाडा नलिने घोषणा गरेका हुन् ।

यही माघ महिनादेखि लागू हुने गरी घरभाडा नलिने निर्णय भएको नेकपा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिए । सांसदहरूले घरभाडास्वरूप प्रतिमहिना १५ हजार रुपैयाँ बुझ्दै आएका थिए ।

भूमिश्वर ढकाल, भोजप्रसाद श्रेष्ठ, दधीराम न्यौपाने, डा. कृष्ण न्यौपाने, कमला विकले प्रदेशसभा सचिवालयमा भाडा नलिने लिखित जानकारी गराएका हुन् ।

जिल्लाबाट प्रतिनिधित्व गर्ने थानकुमारी थापा, विमला पन्थी, दीपा विक, सुनिता थटेरलगायत सांसद भाडामा बस्दै आएका छन् । यसअघि एक वर्षसम्म बुझ्दै आएको रकमलाई पनि संकलन गरी कोषका रूपमा राखिने सांसद ढकालले बताए ।

भाडाका विषयमा कांग्रेस सांसदले भने कुनै निर्णय गरेका छैनन् । कुल ८७ सदस्यीय प्रदेशसभामा रूपन्देहीबाट एक मन्त्रीसहित १८ सांसदले प्रतिनिधित्व गर्छन् । 

प्रतिक्रिया दिनुहोस्