स्वाब विराटनगर पठाइयो



विराटनगर: कोरोना संक्रमणको केन्द्रविन्दु बनेको उदयपुरबाट सोमबार ९१ जनाको स्वाब नमूना परीक्षणका लागि कोशी जनस्वास्थ्य प्रयोगशाला विभाग विराटनगर पठाइएको छ ।

स्वास्थ्य कार्यलय उदयपुरका अनुसार आइतबार ८३ र सोमबार थप ८ जनाको स्वाब नमूना संकलन गरेर पठाइएको हो । त्रियुगा नगरपालिका गाईघाट डिएमगेट टोलका मुस्लिम नागरिक, मोतीगडा, जिल्लाका केही स्वास्थ्यकर्मीसहित भुल्के क्षेत्रका नागरिकको स्वाब नमूना संकलन गरेर परीक्षणका लागि विराटनगर पठाइएको स्वास्थ्य कार्यालय प्रमुख मोहन सुवेदीले बताए ।

पठाइएको नमूना संकलनको रिपोर्ट बुधबारसम्ममा आउने अपेक्षा गरिएको छ । कोरोना संक्रमणको अवस्था सामान्य बन्दै गएका कारण अब आवश्यकता र माग अनुसार मात्र स्वाब नमूना संकलन गर्न लागिएको प्रमुख सुबेदीले बताए ।

उदयपुरमा कोरोनाबाट २८ जना संक्रमित भएका छन् । त्रियुगा नगरपालिका-३ भुल्केवासीले कोरोनासम्बन्धी स्वाब नमूना संकलन र परीक्षण हुनपर्ने माग गरेका छन् । २८ कोरोना संक्रमित रहेको भुल्के गाउँमा हालसम्म ३२४ को मात्र स्वाब नमूना संकलन गरी परीक्षण भएको तर यो सबै गाउँलेका लागि पर्याप्त नभएको र ढुक्क रहने अवस्था नरहेका कारण अब प्रत्येक घरघरका परिवारको समेत नमूना संकलन र परीक्षण हुनुपर्ने स्थानीयवासीको माग छ ।

भुल्केका ईश्वरीप्रसाद भट्टराई भन्छन्, “अहिलेसम्म भुल्केमा ५५ घर मुस्लिम परिवारसहित केही स्थानीयवासी गरेर ३२४ को मात्र स्वाब परीक्षण गरिएको छ । बाँकी अन्य ३०० घरपरिवारका अन्य समुदायको पनि छिटोभन्दा छिटो स्वाब नमूना सङ्कलन गरेर परीक्षण गर्न आफूहरु जोडदार माग गर्दछौँ ।”

स्वास्थ्य कार्यलय, स्थानीय प्रशासन र प्रदेशका मुख्यमन्त्री, मन्त्रीलेसमेत भुल्केवासी सबैको स्वाब नमूना संकलन गरेर परीक्षण गर्ने भनेर आफूहरुलाई ढुक्क पारेको भए पनि अहिलेसम्म बाँकी गाउँलेको स्वाब संकलन र परीक्षण हुन नसकेकामा दुः खी भएको ७० वर्षीय कृष्णप्रसाद ढकाल बताए ।

त्रियुगा नगरपालिका-३ का वडाध्यक्ष अपदेश चौधरीका अनुसार भुल्केमा मुस्लिम समुदायबाहेक पहाडी समुदाय क्षेत्री, ब्रह्माण, राई, कामी, दमाई, भुजेलसहित चौधरी जाति बसोबास गर्दै आएका छन् । वडाध्यक्ष चौधरीका अनुसार भुल्केको सबै बासिन्दाको स्वाब नमूना संकलन र परीक्षण हुन आवश्यक रहेको र आफूले सोही अनुसार पटक-पटक माग गरेको बताए ।

स्वास्थ्य कार्यालय प्रमुख सुवेदीका अनुसार आवश्यक अनुसार भुल्केमा कोरोनाको स्वाब नमूना संकलन र परीक्षण गर्ने काम भइरहेको र छिट्टै छलफल गरेर सामग्री तयार गरी स्वाब नमूना संकलन गर्ने तयारीमा रहेको बताए । रासस

प्रतिक्रिया दिनुहोस्